कला/साहित्य

लोप हुँदै मिथिलाञ्चलको लोकनाच

काठमाडौं । मिथिलाञ्चलसहित तराई–मधेसको लोकगाथा बोकेको नाच लोप हुने अवस्थामा पुगेको छ । लोकनाच लोप हुन थालेपछि त्यससँग सम्बद्ध कलाकार पलायन हुन थालेका छन् ।

सातौँ र आठौँ शताब्दीदेखि प्रचलनमा आएको मिथिला क्षेत्रका प्राचीन लोकनाच अल्लाह रुदल, राजा सलहेस, शितवसन्त, रुनाझुना, बादशाह, गोपीचन्द, कुँवर बृजमान, सुन्दर वनको सुन्दर फूल, गुगलीघाट, सामा चकेवा र कमला मैयाजस्ता लोप हुन लागेको हो ।

त्यसैगरी जयविषहरा, दुलहा दयालसिंह, विदेशिया, दिनाभद्री, लोरिक, राजानल, राजा हरिश्चन्द्र, सती विहुला, कारिक, महराई शोखामहाजन, महराई कारिक महाराज, आल्हा रुदल, झगडु मलजस्ता ऐतिहासिक नाच पनि लोप भएका छन् । यी नाच लोप हुन थालेपछि यससँग सम्बन्धित कलाकार पनि पलायन हुन थालेका छन् । दश वर्षको उमेरदेखि लोकनृत्य गर्दै आउनुभएको धनुषाको मिथिला नगरपालिका–१० का ४५ वर्षीय पुनित रामले आफूले सिकाएका २० जना कलाकार पलायन भएको बताए ।

कलाकार पलायन भएसँगै नाच कम्पनी पनि बन्द भएको छ । पुनितको कम्पनी पनि कलाकारको अभावका कारण बन्द भएको छ । लोक तथा पौराणिक कथामा आधारित नाचका भिडियो विभिन्न माध्यमबाट बजारमा पाइन थालेकाले पनि नृत्य कम्पनी प्रभावित भएका पुनितको बुझाइ छ । पुनितका अनुसार लोकनाच लोप भएपछि धनुषा जिल्लामा मात्र १०० भन्दाबढी कम्पनी बन्द भइसकेका छन् ।

विशेषगरी ग्रामीण क्षेत्रमा लोकप्रिय यस्ता नृत्य तत्कालीन नेकपा माओवादीको सशस्त्र आन्दोलनका बेलादेखि प्रभावित भएको हो । अहिले आक्कलझुक्कल वैवाहिक समारोह र मेलामा त्यस्ता नृत्य प्रस्तुत हुने गरेका वटेश्वर गाउँपालिका–५ का शान्तिपुरका जोगिन्दर महरा बताउनुहुन्छ । उनले यस्ता नाचलाई राज्यले संरक्षण गरी कलाकारलाई प्रोत्साहन गर्नुपर्ने बताउँछन् ।

महोत्तरीको पोखरभिन्डाका रामप्रसाद पासवानले लामो समयदेखि जङ्गली बादशाह कम्पनी नामक लोकनाच देखाउने कम्पनीमा काम गरेर परिवारलाई पाल्दै आउनुभएको थियो । अचेल नाचको माग हुन छाडेपछि उहाँ मजदुरी गरी परिवार पाल्न बाध्य हुन्छन् ।

नाच कम्पनी बन्द हुँदा यसमा आबद्ध कलाकार रोजगारीका लागि खाडी तथा छिमेकी मुलुक भारत पलायन भएका छन् । धनुषा हरिहरपुरका ६२ वर्षीय जीवछ पासवान मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोक गाथासँग जोडिएको चौधौं शताब्दीका प्रतापी ‘राजा सलहेश’ भेषमा अभिनय गर्दै आउनुभएको थियो । पासवान मञ्चमा उत्रिँदा दर्शकले तालीको गडगडाहड गुञ्जाउँथे ।

जीवछसहित २५ जना आबद्ध मिथिला नाच पार्टीले धनुषा, महोत्तरी, सिरहा, सप्तरी र भारतको विहारलगायतका क्षेत्रमा राजा सलहेसको कथा नाटकका माध्यमबाट प्रस्तुत गरिसकेकोउनले बताए । उनको टोलीले एकरात नाटक देखाए बापत ४० देखि ६० हजार रुपैयाँ त्यतिबेला पाउथे । ३५ वर्ष अभिनयमा बिताएको जीवछका पछिल्लो समय लोकनाचप्रति दर्शकको रुचि नभएको बताए ।

“मिथिला संस्कृतिका लोकगाथाका नाचको गाउँघरमा माग छैन”, जीवछले भने , “त्यही भएर कलाकार रोजगारीका लागि कतिपय विदेश पलायन भए ।” यस्ता नाचको संरक्षणमा सरकारको कुनै पहल नभएकाले कालाकार कामको खोजीमा विदेशिएको जीवछको भनाइ छ ।

पहिलापहिला प्रतिष्ठाका लागि पनि ठूलो रकम खर्चेर ग्रामीण क्षेत्रमा लोकनाच मञ्चन गराइन्थ्यो । पछिल्लो समय कोरोना महामारीको कारण भएको लकडाउनले यस्ता कार्यक्रम हुन छाडेको छ । जसका कारण नाच कम्पनीहरु एकपछि अर्को गर्दै बन्द हुँदै गएका छन् ।

धनुषाको हरैयाका भरोसी महराले उनले भने “केही वर्षअघिसम्म नाच कम्पनीबाटै वार्षिक पाँच÷सात लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्थ्यो । त्योबेला मिथिला क्षेत्रमा लोकनाच प्रसिद्ध थियो तर अहिले यी मौलिक नाच लोप हुँदै गएको छ ।”

नाच कम्पनी बन्द भएपछि परिवार पाल्न पनि समस्या भएकाले आफूसँगै नाच कम्पनीमा काम गर्दै आएका साथी रोजगारीका लागि भारतको पञ्जाव र लुधियाना गइसकेको र आफूले पनि भारततिरै जाने सोच बनाएको धनुषा हरिहरपुरका दिलीप महराले बताए ।

सिडी र मोबाइलको बढ्दो प्रयोगका कारण ऐतिहासिक लोक नाच मञ्चन गर्ने कम्पनी विस्थापित हुन थालेको नाच कम्पनीको जिम्मेवारी बहन गरिसकेको धनुषाको किसानपुरका राम लोचन पासवानले बताए । उनले भने “ऐतिहासिक नाच लोप हुन थालेपछि धुनषा जिल्लामा रहेका एक सयभन्दा बढी नाच कम्पनी बन्द भएको छ ।” विगतमा ठूलो नाम कमाएका नाच कम्पनी बन्द भएपछि त्यसमा संलग्न करिब पाँचहजार भन्दाबढी कलाकार बेरोजगार भएर कामको खोजीमा विदेश पलायन भइसकेका बताइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *