काठमाडौं । नेपाल भलिबल सङ्घको आसन्न नवौँ चुनावी अधिवेशनका लागि सङघका वर्तमान महासचिव जीतेन्द्रबहादुर चन्दले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।
यही भदौ २२ गते हुने उक्त अधिवेशनका लागि चन्दले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले भलिबल खेलको विकासका लागि अन्तर्राष्ट्रियस्तरको भलिबल कर्भडहल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालको राष्ट्रिय खेल भलिबलको केन्द्रमा अन्तर्राष्ट्रिय मापदण्डको कर्भडहल निर्माणका लागि सम्बन्धित निकायसँग निर्माण गर्न पहल गर्ने र आफ्नो कार्यकालमा जसरी भए पनि निर्माण गर्ने उल्लेख गरे ।
“सरकारको एकल प्रयासले मात्र पुग्दैन, यसका लागि स्वदेशी तथा विदेशी डोनरको आवश्यकता पर्दछ जुन सहयोग अपिलका लागि मेरो टिममा सशक्त व्यक्ति रहेका छन् । , उहाँहरुको सहयोगले नेपालमा पनि भलिबल खेलका लागि छुटै कर्भडहल निर्माण हामी गर्नेछौँ”, महासचिव चन्दले भने ।
महासचिव चन्दले आफ्नो कार्यकालमा कम्तीमा पनि छ वटा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता नेपालमा नै गर्ने योजना भएको बताउनुभयो । उनले भलिबल खेललाई आर्थिक र भौतिकरूपमा सहयोग गर्ने दाता, भलिबल खेलमा आफ्नो पूरा जीवन समर्पण गर्नेहरु तथा खेल जीवनबाट सन्न्यास घोषणा गर्ने खेलाडीलाई सम्मान गर्दै जानेसमेत बताए । चन्द पूर्वखेलाडीका साथै सेन्ट्रल भलिबल एसोसियसनका कोषाध्यक्षसमेत रहेका छन् ।
यसैगरी चन्दको प्यानलबाट रोशन श्रेष्ठले महासचिव पदमा उम्मेदवारी दिएका छन् । नेपाल भलिबल सङ्घकी वर्तमान उपाध्यक्ष निरोज मास्केले एक महिनाअघि नै अध्यक्ष पदमा उमेदवारीको घोषणा गरिसकेका छन् । उनले प्यानलबाट महासचिवमा मनवीर छन्त्यालले उम्मेदवारी घोषणा गरेका छन् ।




