काठमाडौँ । यस सिजनमा उच्च फर्ममा रहेका ब्राजिलियन खेलाडी नेइमारले क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको एउटा रेकर्डलाई तोडेका छन् ।
बुधबार राति पिएसजीका लागि खेल्ने क्रममा नेइमारले एक गोल गर्दै रोनाल्डो र मेसीको लगातार १५ खेलमा गोल र असिस्टको रेकर्डलाई तोडेका हुन् ।
रोनाल्डो र मेसीले राखेको यस रेकर्डलाई तोड्दै नेइमारले लगातार १६ खेलमा गोल वा गोल असिस्ट गरेका छन् । नेइमारले यो रेकर्ड आफ्नो राष्ट्रिय टिम ब्राजिल र क्लब पिएसजीबाट खेलेर बनाएका हुन् ।
नेइमारले यस सिजनमा आफ्नो क्यारियरकै उत्कृष्ट प्रदर्शन गर्दै पिएसजीका लागि खेलेका ६ खेलमा ९ गोल र ६ गोल असिस्ट गरेका छन् ।
यसअघि सिजनको शुरुवातमा पिएसजीले नेइमारलाई बेच्ने तयारी गरेको थियो । पिएसजीका प्रेसिडेन्ट नासिर अल खेलाइफीले नेइमारले क्लब छोड्न सक्ने बताएका थिए । पिएसजीले एम्बाप्पेसँग सम्झौता नविकारण गरेपछि नेइमारलाई बेच्ने तयारी गरेको थियो । लगातारको इन्जुरी र खराब प्रदर्शनका कारण नेइमारलाई बेच्न खोजेको भएपनि नेइमारले भने क्लब छोड्ने कुनै चाहना देखाएनन् ।
उनले आफ्नो सम्झौताको शर्त प्रयोग गरेर पिएसजीमा थप दुई बर्षको सम्झौता अवधि थपेका थिए ।




