भरतपुर।चिसाप राजकृष्ण – मायादेवी साहित्य पुरस्कार २०७९ बाट `अग्नि´ महाकाव्यकार डाक्टर नवराज लम्साल सम्मानित भएका छन् । चितवन साहित्य परिषद्ले प्रदान गरेको यस पुरस्कारको राशि ३५ हजार ४५ रुपैयाँ र सम्मानपत्र रहेको छ ।
शुक्रबार चितवन साहित्य परिषद्मा आयोजित समारोहमा प्रमुख अतिथि रहेका कविवर गोविन्दराज विनोदीले कवि लम्साललाई दोसल्ला ओढाइ नगद र सम्मानपत्रले सम्मान गरेका हुन् ।
सम्मानपछि अग्नि´ महाकाव्यमाथि विभिन्न स्रस्टाहरूले समीक्षात्मक टिप्पणी राखेका थिए । गोविन्दराज विनोदी, गायत्री श्रेष्ठ, एलबी क्षेत्री, कपिल अज्ञात, इन्द्र रेग्मीले अग्निका सन्दर्भमा रहेर विभिन्न टिप्पणी प्रस्तुत गरे । कपिल अज्ञातले अग्नि महाकाव्य एउटा गैरदलितले दलितका बारेमा लेखेको महाकाव्य भएको बताए ।छुवाछुत, द्वन्द्व, विखण्डनजस्ता विद्रुप पक्षहरूको उन्मूलन गरी शालीन, सभ्य समाज निर्माण चेतनाको विगुल हो महाकाव्य´, अज्ञातले भने ।
गायत्री श्रेष्ठले पनि अग्नि महाकाव्य पढ्दा आनन्द लागेको बताइन् । काव्यमा सदियौँदेखि वर्गीय विभेदको जञ्जीरमा बाँधिएकाहरूप्रति हित चिन्तनाको आलोक प्रज्ज्वलन गरिएको श्रेष्ठले भनिन् । गोविन्दराज विनोदीले सत्ताको सेपमा कठ्याङ्ग्रिएर जीवन समापन गरेका र संघर्ष गर्दै गरेकाहरुको यथार्थ काव्यमा उजागर भएको बताए । समकालीन साहित्य उत्कृष्ट नमूना हो अग्नि´, विनोदीले भने –जात, धर्म, पेसा, संस्कार, संस्कृति र भूगोलभन्दा माथि छ मानवता, त्यसैलाई आधार मानेर लेखिएको उत्कृष्ट काव्य हो यो ।´ विनोदीले मोतीराम भट्टका बारेमा पनि चर्चा गरे ।
अर्का वक्ता एलबी क्षेत्रीले पनि अग्नि र यसका रचयिता लम्सालका बारेमा चर्चा गर्दै अग्निले देशव्यापीरूपमा विभिन्न पुरस्कार पाउँदै गएकोमा खुसी व्यक्त गरे ।
यो पुरस्कार चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष स्वर्गीय राजकृष्ण कँडेल र उनकी धर्मपत्नी मायादेवीको नाममा उनका परिवारले स्थापना गरेका हुन् । यो पुरस्कार २०७३ सालदेखि दिन थालिएको हो । यो पुरस्कार पहिलोपटक २०७३ सालमा डिल्लीराज मिश्रको नेपाली पुरस्कारहरूको इतिहास´ पुस्तकलाई दिइएको थियो । २०७४ सालमा सुमन सौरभको लघुकथासङ्ग्रहस्वप्नस्तान´´, २०७५ सालमा सूर्य लाकोजुको कवितासङ्ग्रह मेरो घाम´, २०७६ सालमा वसन्त पराजुलीकोकुमाता´ कथासङ्ग्रह र गणेशप्रसाद लाठको अघटित´ उपन्यासलाई संयुक्तरूपमा र २०७७ सालमा कवि नेत्र एटमको कवितासङ्ग्रहप्रिय मौनता´लाई दिइएको थियो ।
अघिल्लो साता मात्रै लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०७९’ र जनपुस्तकालय धनगढीबाट जसुन्धरा राष्ट्रिय छन्द पुरस्कारबाट पुरस्कृत भएको अग्नि महाकाव्य प्रतिष्ठित मदन पुरस्कार र पद्मश्री पुरस्कारको मनोनयनमा पनि परेको छ । अग्निले सुदूरपश्चिम साहित्य समाज कैलालीबाट पनि १ लाख एघार हजार १ सय एघार रुपैयाँको उत्कृष्ट कृति पुरस्कार समेत प्राप्त गरेको छ । विभित्र पुरस्कारको घोषणा भैसकेको अग्निको पहिलो सम्मान चितवनको माटोमा आएर लिन पाउँदा खुसी लागेको लेखक नवराज लम्सालले बताए । बुकहिल पब्लिकेसन्सबाट प्रकाशित पुस्तकको मूल्य ५५५/- रहेको छ ।
१५७ औँ मोतीराम जयन्तीको अवसर पारेर गरिएको कार्यक्रममा संगीतमय गजल गायन पनि गरिएको थियो । चन्द्र घले, श्याम श्रेष्ठ, दिनेश पण्डितलगायतले गजलका विभिन्न प्रस्तुतिहरू दिएका थिए । सांगीतिक गजल गायनलाई बिष्णु तिवारी उषाले सहजीकरण गरेकी थिइन् । कार्यक्रम चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गणेश श्रमण, बालकृष्ण थपलिया, जगन्नाथ पण्डित, पूर्णप्रसाद अधिकारी, भीम शर्मा, दिलबहादुर बोगटी, निर्दोष जीवन, सरला जोशी, शान्ति शर्मा, रामशरण सिलवाल, राजु कँडेल, विमला अधिकारी देवकोटा, पदम अर्याल, रेशमलाल श्रेष्ठ, नरेन्द्र पौडेल, अविरल यात्री, वसन्त पराजुली, रमेश प्रभात, भरत कुमार श्रेष्ठ विवशलगायतको उपस्थिति थियो ।




