खेलकुद

क्यारियरकै उत्कृष्ट लयमा नेइमार !

काठमाडौँ । ब्राजिलियन खेलाडी नेइमारले यस सिजनमा गरेको उत्कृष्ट प्रदर्शनको अहिले निकै चर्चा भइरहेको छ ।

पिएसजीमा लियोनेल मेसी र किलियन एम्बाप्पे जस्ता सुपरस्टार खेलाडीहरुसँग खेल्दै नेइमारले यस सिजनको शानदार शुरुवात गरेका हुन् ।

नेइमारको यो प्रदर्सनलाई उनको क्यारियरको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन भनिएको छ ।

पिएसजीले यस सिजनका शुरुवाती ३ खेलमा १७ गोल गर्दै तिनै खेल जितेको छ । पिएसजीले क्लेरमोन्टविरुद्ध ५-०, मोन्टपेल्लीएरविरुद्ध ५-२ र लिलेविरुद्ध ७-१ को जित निकालेको थियो ।

जसमा पिएसजीका लागि नेइमारले ५ गोल गरेका छन् । त्यस्तै एम्बाप्पेले पछिल्लो खेलमा ह्याट्रिकसहित कुल ४ गोल गरेका छन् भने मेसीले ३ गोल गरेका छन् ।

पिएसजीको ‘एमएनएम’ समुहमा नेइमार सबैभन्दा बढी ब्यालेन्स खेलाडी देखिएका छन् । पिएसजीका प्रशिक्षक क्रिस्टोफे गलटिएरले पनि यस कुरालाई जोड दिएका छन् । उनले लिलेविरुद्धको खेलपछि तीन जनामा नेइमार सबैभन्दा बढी ब्यालेन्स खेलाडी रहेको बताए । यस खेलमा नेइमारले २ गोल गरेका थिए भने ३ गोल असिस्ट पनि गरेका थिए ।

नेइमार यस सिजनमा पिएसजीका लागि धेरै गोल गर्ने खेलाडीको सूचीमा शिर्ष स्थानमा रहेका छन् । उनले ४ खेलमा ७ गोल गरेका छन् । लिग वानमा ३ खेलमा ५ गोल गरेका नेइमारले फ्रेन्च कपको फाइनलमा पिएसजीलाई उपाधि दिलाउनेक्रममा नेइमारले २ गोल गरेका थिए । त्यस्तै नेइमारले यस सिजनमा ६ गोल असिस्ट पनि गरेका छन् ।

सिजन शुरु हुनु अगाडी पिएसजीले नेइमारलाई बेच्ने तयारी गरेको रिपोर्ट बाहिर आएको थियो । तर नेइमारले भने पिएसजी छोड्न चाहेनन् । यसै हल्लाका बीच उनले आफ्नो सम्झौतामा रहेको अधिकार प्रयोग गरेर पिएसजीसँगको सम्झौता २ बर्ष थपेका थिए । अब उनको पिएसजीसँग सम्झौता २०२७ सम्म रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *