समाचार

तुलसालयसहित विभिन्न संस्था तथा व्यक्ति पुरस्कृत

काठमाडौं । एन एण्ड जे इन्टरटेनमेन्ट एन.वाई.इन्क, अमेरिकाले अनाथ तथा असहाय व्यक्तिहरुको उद्धार गरी आश्रय दिइरहेको तुलसालय आश्रमसहित विभिन्न संस्था तथा व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ ।

ललितपुरको भैँसेपाटीमा अवस्थित तुलसादेवी हरिहर फाउण्डेसनद्वारा सञ्चालित तुलसालय आश्रममा हाल २७ बालबालिका, ज्येष्ठ नागरिक र मानसिक रोग भएकाहरु आश्रित छन् । प्रतिष्ठानका अध्यक्ष सरु सुवेदीलाई नगद २५ हजारसहित सम्मानपत्र प्रदान गरिएको हो ।

त्यस्तै लक्ष्मी प्रतिष्ठान, पूर्वेली न्युज डटकम, इ–नेप्लिज डटकमलाई पनि सम्मान गरिएको छ । साहित्यकारहरु माया ठकुरी, कृष्ण प्रधान, प्रा डा गार्गी शर्मा, गायक ओमविक्रम विष्ट, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईलाई पनि जनही २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

अमेरिकामा बसोबास गर्ने साहित्यकार कमला प्रसाईंले एन एण्ड जे इन्टरटेनमेन्ट एन.वाई.इन्क नामक संस्था स्थापना गरी नेपाली भाषा साहित्य र समाजसेवाका क्षेत्रमा विशिष्ठ योगदान दिएका व्यक्तित्वहरुलाई प्रदान गर्नेगरी पुरस्कार स्थापना गरेकी हुन् ।

कार्यक्रममा संस्थाका संस्थापक कमला प्रसाईंले आफू विदेशी भूमिमा रहेको भए पनि नेपाली भाषामा योगदान दिने र नेपालको समाजसेवाका क्षेत्रमा क्रियाशील रहने व्यक्तिको स्मरण र सम्मान होस् भनेर पुरस्कारहरु स्थापना गरेको जानकारी दिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *