काठमाडौं । पर्यटन प्रवद्र्धका लागि सरकारले स्पष्ट नीति तय गर्नुपर्नेमा जोड दिएइको छ । बुटवलमा आज आयोजना गरिएको पर्यटन व्यवसाय आजको सन्दर्भ विषयक कार्याशाला गोष्ठीका वक्ताले स्पष्ट नीति बनाएर कार्यान्वयन गर्न सकेमात्र पर्यटन प्रवद्र्धन गर्न सकिने बताएका हुन् ।
पूर्वमन्त्री एवं नेकपा(एमाले) पर्यटन विभागका प्रमुख भीमप्रसाद आचार्यले देशको आर्थिक अवस्था कमजोर भएका कारण पर्यटन व्यवसाय पनि प्रभावित भएको बताए । पर्यटन प्रवद्र्धनबाटै देशको आर्थिक अवस्था सुदृढ हुने भएकाले विभागले प्रभावकारी योजना निर्माण गर्न थालेको जानकारी दिए । उनले पर्यटन प्रवद्र्धनका नीतिगत समस्या पहिचान गरी समस्या समाधान गर्ने उपायसहितको योजना र कार्यक्रम बनाएर कार्यान्वयनमा ल्याउने उल्लेख गरे ।
कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै डा आलोक पसाईँले कानुनी जटिलता, नितिगत समस्या, पर्यटनमैत्री कार्यविधिको आभाव, तीन तहबीचको अधिकारमा अस्पस्टता, पूर्वाधारको कमी, हवाई सेवाको उपलब्धता, दक्ष जनशक्तिको अभाव र कोभिड–१९ को असर नै पर्यटन विकासका समस्याका रुपमा रहेको उल्लेख गरे ।
उनले यो समस्या समाधानका लागि निति र नियतमा स्पष्टता, नतिजामूलक प्रचारप्रसार जनशक्तिको क्षमता विस्तार, पर्यटन वस्तुमा विविधीकरण, वातावरण तथा प्राकृतिक सम्पदाको संरक्षण, प्रभावकारी आन्तरिक समन्वय, आन्तरिक पर्यटन प्रवद्र्धन, नयाँ पर्यटन गन्तव्यको पहिचान, मौलिक संस्कृतिको प्रवद्र्धन तथा संरक्षण, पूर्वाधार विकास, हवाई मैदान तथा सम्पर्कमा विस्तार र महामारीको जोखिम कम गर्ने र जोखिम बहन गर्नसक्ने योजना आवश्यक रहेको बताए ।
गोष्ठीमा पर्यटन व्यवसायी माधव नेपालले पर्यटन व्यवसायीलाई उत्साहित गर्ने खालका नीति र कार्यक्रम सरकारले ल्याउन नसकेको गुनासो गरे । “नियत खराब राखेर काम गर्नेको पहिचान गर्न आवश्यक छ”, उनले भने । होटल एशोसिएशन नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले पर्यटक भित्र्याउन यहाँका भौतिक पूर्वाधार पर्यटनमैत्री बनाउनुपर्ने धारणा राखे । मणिमुकुन्द सेन उद्यान समिति बुटवलका अध्यक्ष खेमप्रसाद लुइँटेलले पर्यटन क्षेत्रमा आमूल परिवर्तनका लागि योजना र कार्यक्रम प्रभावकारी हुनुपर्ने बताउँदै उद्यान तथा पार्कलाई पनि त्यसमा समेट्नुपर्ने सुझाव दिए ।




