खेलकुद

नेपालसँग बराबरीमा रोकियो, बंगलादेश फाइनलमा

काठमाडाैं। साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दुबै गोल दोस्रो हाफमा भएको थियो ।

खेलमा सुरुआती अग्रता बंगलादेशले बनाएको थियो । खेलको ६३ औं मिनेटमा मोहमद पियास अमहेद नोभाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६८ औं मिनेटमा निरन्जन मल्लले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए ।त्यसअघि दुबै १० खेलाडीमा समेटिएको थियो ।बंगलादेशका सहिदुल इस्लामले रातो कार्ड पाए । यस्तै नेपालका दिपेश गुरुङले रातो कार्ड पाएका छन् ।

नेपालका बेन्चका खेलाडी रोहित सुब्बाले समेत रातो कार्ड पाएका थिए ।खेलको क्रममा झगडामा उत्रिएपछि उनीहरुले रातो कार्ड पाएका हुन् ।यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

नेपालले ४ खेलमा ७ अंक जोडेको छ ।नेपाल दोस्रो स्थानमा रहेको छ ।बंगलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ ।

अपराजित रहेको बंगलादेशले ४ खेलमा १० अंक जोडेको छ ।बंगलादेश शीर्ष स्थानमा रहेको छ ।अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नु पर्नेछ ।

यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ ।भारतले जित वा बराबरी गरेको खण्डमा नेपाल बाहिरिने छ ।

भारत र माल्दिभ्सबीचको खेल आज बेलुका ७:१५ बजे सुरु हुनेछ ।भारत ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।माल्दिभ्स १ अंक जोडेर बाहिरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *