काठमाडौं । रुस र युक्रेनबीच कालो सागर हुँदै अन्न निर्यात गर्ने सम्झौता भएको २४ घण्टामै युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसले भीषण मिसाइल आक्रमण गरेको छ । युक्रेनको विदेश मन्त्रालयले यही आक्रमणका कारण यदि अन्न निर्यात सम्झौता कार्यान्वयन नभएमा त्यसको जिम्मेवार रुस हुने चेतावनी दिएको छ ।
युक्रेनी सेनाका अनुसार ओडेसामा चार मिसाइल प्रहार भएका थिए, तीमध्ये दुई वटालाई निष्कृय पारिएको थियो । दुई वटा क्यालिबर क्रुज मिसाइल भने बन्दरगाहमा खसे । युक्रेनले मिसाइल आक्रमणबाट क्षति पुगे पनि अन्न निर्यातको तयारी भने जारी छ ।
ओडेसाबाट मन्त्री बनेका ओलेक्सी गोन्चारेन्कोले रुसले बन्दरगाहमा आक्रमण गरेर सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘सम्झौता अनुसार रुसले कुनै पनि बन्दरगाहमा आक्रमण गर्ने छैन किनभने यसबाट निर्यात प्रभावित हुनसक्छ । यस आक्रमणको नतिजा के हुन्छ मलाई थाहा छैन तर अन्न ढुवानी गर्ने जहाजको आउ-जाउमा समस्या हुनसक्छ ।’ संयुक्त राष्ट्रसंघले आक्रमणको निन्दा गरेको छ र अन्न निर्यातसम्बन्धी सम्झौता लागू गर्न आवश्यक छ ।




