किभ । युक्रेनको केन्द्रीय सशहर भिन्नित्सियामा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा तीन जना बालबालिकासहित कम्तीमा २० जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
युक्रेनको राजधानी किभदेखि दक्षिण पश्चिममा पर्ने तथा कुनै पनि युद्धमोर्चा रेखादेखि धेरै टाढा रहेको यस शहरमा भएको आक्रमणमा अन्य ९० भन्दा बढी घाइते भएका छन् । तीन वटा रुसी क्षेप्यास्त्र खस्दा एउटा कार्यालय ब्लक र आवासीय भवनहरू क्षतिग्रस्त भएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हमलालाई ‘खुला आतंकवादी कार्य’ को संज्ञा दिएका छन् । स्थानीय समयअनुसार बिहीबार बिहान १० बजेर ५० मिनेट जाँदा एउटा नौ तले कार्यालय भवनको कार पार्किङ स्थलमा ती क्षेप्यास्त्र खसेको युक्रेनको सरकारी आपतकालीन सेवाले जनाएको छ ।
करिब ३ लाख ७० हजार जनसंख्या भएको भिन्नित्सियाको मध्य भागका आवासीय भवनहरूमा पनि क्षेप्यास्त्र प्रहार भएको थियो । आफ्नो आक्रमण ‘सर्वसाधारणमाथि केन्द्रित छैनन्’ भनेर अडान लिने गरेको रुसी रक्षा मन्त्रालयले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
रुसले ब्ल्याक सीको एउटा पनडुब्बीबाट कालीवर क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो । युरोपेली संघ (इयू) का विदेश तथा न्यायमन्त्रीहरूको हेगमा ‘आरोपित रुसी युद्ध अपराध’ विषयक बैठक बस्न लागेको बेला यो आक्रमण भएको हो ।




