काठमाडौँ । श्रीलंकाको संसदका सभामुख महिन्दा यापा अभयावर्धनेले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा आफूले अझै नपाएको बताएका छन् ।
राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार जुलाई १३ सम्ममा राजीनामा दिने घोषणा गरेका थिए । तर त्यसको एक दिनअघि उनी माल्दिभ्स भागेका थिए ।
गोटाबाया हाल माल्दिभ्समा रहेको र सिंगापुर पुग्ने प्रयासमा रहेको बताइएको छ ।
गोटाबाया एक व्यावसायिक उडानमा सिंगापुर पुग्न खोज्दै थिए जुन सुरक्षा कारणले राति रद्द गरिएको बताइएको छ ।
गोटाबाया राजापाक्षेको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् ।
गोटाबाया राजापाक्षेले देश छाडेको खबर आएपछि कोलम्बोमा प्रदर्शनकारीहरु आक्रोशित भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालय कब्जा गरेका छन् ।
आन्दोलनकारीले दुवै नेताको राजीनामा माग गरिरहेका छन् । यसैबीच, श्रीलंकामा बुधबार राति लगाइएको कर्फ्यु विहिबार हटाइएको छ ।




