काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी ट्विटर टेस्लाका प्रमुख एलन मस्कविरुद्ध अदालत गएको छ । ट्विटरले अमेरिकी डेलावेयर अदालतलाई मस्कलाई प्रति ट्विटर शेयर ५४.२० डलर मा सम्झौता पूरा गर्न आदेश दिन आग्रह गरेको छ ।
मस्कले शुक्रबार आफूले ट्विटर किन्ने योजनाबाट पछि हटेको घोषणा गरेपछि ट्विटरले कानुनी लडाइँ लड्ने निर्णय गरेको थियो । उनले पटकपटक सम्झौताका सर्त तोडेकाले आफू पछि हटेको आरोप लगाएका छन् । उनले नक्कली अकाउन्टको संख्याबारे ट्विटरले जानकारी नदिएको बताए ।
मस्कले ट्विटर किन्नको लागि अप्रिलमा एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सम्झौता ४४ अर्ब डलरमा भएको थियो । तर अर्को महिनामा, उनले नक्कली र स्प्याम खाताहरूको संख्यामा ट्विटर तथ्याङ्कहरू पर्खिरहेकाले सम्झौता ‘अस्थायी रूपमा होल्डमा’ रहेको बताए ।
मुद्दामा मस्कले मर्जर सम्झौता उल्लंघन गरेको आरोप लगाइएको छ । यो पनि भनिएको छ की मस्कले यो सम्झौताबाट पछि हटेको छ किनभने यसले अब आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्दैन । ट्विटरका अध्यक्ष ब्रेट टेलरले माइक्रोब्लगिङ साइटले मस्कलाई सम्झौताको दायित्वहरूको लागि जवाफदेही बनाउन चाहेको बताएका छन् ।
मुद्दामा भनिएको छ, मस्कले सम्झौतामा सहमति जनाएपछि टेस्लाको सेयर र स्टक बजारमा गिरावट आयो, टेस्लामा उनको हिस्सेदारी घट्यो । मस्कको सम्पत्ति नोभेम्बर २०२१ को उच्च बिन्दुबाट १०० बिलियन डलरले घटेको छ, जसका कारण उनी यस सम्झौताबाट बाहिर आउन चाहन्छन् ।
साथै, यो पनि भनिएको छ, मस्क आफैंले बजारमा मन्दी बढाउन चाहँदैनन्, तर ट्विटरका शेयरधारकहरू स्थानान्तरण गर्न चाहन्छन्, जुन मर्जर सम्झौताको विरुद्ध छ ।




