काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।
नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । तर, प्रतियोगितामा सबैभन्दा बलियो टोली मानिएको स्कटल्यान्डलाई हराउन भने सहज छैन । स्कटल्यान्ड घरेलु मैदानमा लगातार दोस्रो जित चाहन्छ ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपालले बलिङमा राम्रो प्रदर्शन गरेपनि ब्याटिङमा चुक्दै आएको छ । खेलाडीहरु जिम्मेवारपूर्ण ढंगले क्रिजमा टिक्न सकेका छैनन् । नेपाल आज जित चाहन्छ भने उत्कृष्ट ब्याटिङ गर्नुपर्ने हुन्छ ।
अंक तालिकामा नेपाल १७ खेलमा ७ मा जित र ९ मा हार सहित १५ अंकका साथ छैटौं स्थानमा छ भने सबैभन्दा कम हार्ने टोली स्कटल्यान्ड २१ खेलमा ३० अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्डले प्रतियोगितामा जम्मा ५ खेल मात्र गुमाएको छ ।




