विश्व

को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ?

एजेन्सी । बेलायतमा सेप्टेम्बर ५ मा देशको नयाँ प्रधानमन्त्रीको नाम घोषणा गरिने भएको छ । कन्जरभेटिभ पार्टीको नेतृत्वले सो दिन पार्टीको नेताको निर्वाचन हुने गरी देशको भावी प्रधानमन्त्री हुने जनाएको छ ।

तत्कालिन बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गत हप्ता कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका थिए । उनको नेतृत्वमा प्रश्न उठाउँदै उनको सरकारका केही वरिष्ठ मन्त्रीले राजीनामा दिएका थिए । धेरै पार्टीका सांसदहरूले पनि बोरिस जोनसनलाई समर्थन गर्न अस्वीकार गरेपछि उनले राजीनामा दिनुपरेको थियो।

जुलाई ७ मा राजीनामाको घोषणा गर्दै बोरिसले नयाँ नेता नआएसम्म आफू प्रधानमन्त्रीको पदमा रहने बताएका थिए । तर, चर्को विरोध भएपछि राजीनामा दिएका हुन् ।

हालसम्म ११ जना उम्मेदवार प्रधानमन्त्रीको दौडमा छन् । जसमा अर्थमन्त्री पदबाट राजीनामा दिने भारतीय मूलका ऋषि सुनक र स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिने पाकिस्तानी मूलका साजिद जाविदको नाम पनि समावेश छ ।

भारतीय मूलकी गृहमन्त्री प्रिती पटेलको दाबीबारे केही स्पष्ट छैन । यसबाहेक अन्य उम्मेदवार पनि प्रधानमन्त्री बन्ने दौडमा सामेल हुन सक्छन् । उम्मेदवारहरूसँग आफूले पाउनुपर्ने समर्थन जुटाउन मंगलबारसम्मको समय रहेको पार्टीले जनाएको छ ।

प्रत्येक उम्मेदवारलाई नेता पदको दाबीमा समावेश हुन कम्तीमा २० जना सांसदको समर्थन चाहिन्छ। त्यसपछि बुधबारदेखि पार्टीका सांसदहरूले अर्को चरणको निर्वाचनका लागि मतदान सुरु गर्नेछन् ।

सांसदको मतदानपछि असार २१ गतेसम्म उम्मेदवारको संख्या दुईमा सीमित हुनेछ । त्यसपछि पार्टीका सदस्यहरूले मतदान गरेर नयाँ नेता चयन गर्नेछन्। सेप्टेम्बर ५ मा प्रधानमन्त्री को बन्ने उम्मेदवारको घोषणा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *