काठमाडौँ । वैज्ञानिकहरूले दुई हजार वर्ष पुरानो र गर्भवती महिलाको सुरक्षित राखिएको शवको रहस्य पत्ता लगाउन प्रयास गरिरहेका थिए ।
इजिप्टबाट फेला परेको यो शवमा जो महिला थिइन्, उनको गर्भमा हुर्किरहेको बच्चा पूर्णतया सुरक्षित थियो, अर्थात् महिलाको मृत्यु भइसकेको थियो तर उनको भित्रको भ्रूण जीवित थियो ।
यस महिलाको मृत्युको कारण पत्ता लगाउन वैज्ञानिकहरूले सबैभन्दा पहिले शवको टाउकोमा अनुसन्धान गरेका थिए । यस अनुसन्धानबाट महिलाको मृत्यु क्यान्सरका कारण भएको अनुमान गरिएको छ । यो एक खोज हो जसले क्यान्सर विशेषज्ञहरू र इजिप्टोलोजिस्टहरूलाई अलमल्ल पारेको छ ।
१९औं र २०औं शताब्दीमा यस कंकाललाई पुरुष पुजारीको हो भन्ने विश्वास गरिएको थियो । तर, जब ‘वारसा ममी प्रोजेक्ट’ ले यसमा काम गर्यो, यो वास्तवमा एक महिलाको थियो भन्ने पत्ता लाग्यो ।
यस वर्षको सुरुमा, रहस्यमय महिलाको सीटी स्क्यानले उनको पाठेघरमा भ्रूण रहेको प्रमाण फेला पारेको थियो । विशेष कुरा यो थियो कि उनीहरुको अनुसन्धानले पाठेघरको अति अम्लीय र कम अक्सिजन वातावरणका कारण भ्रूण पनि राम्रोसँग सुरक्षित रहेको देखाएको थियो ।
अनुसन्धानकर्ताहरुका अनुसार धेरै पटक उनीहरुलाई यो महिलाको मृत्युको कारण के हो भन्ने प्रश्न सोधिएको थियो, त्यसैले उनीहरुले पत्ता लगाउने निर्णय गरेका थिए । गर्भवती आमाको टाउकोको स्क्यान गरिएको थियो । हड्डीमा यस्ता लक्षण भेटिएका थिए जसले महिलालाई क्यान्सर भएको देखाएको थियो ।
सीटी स्क्यानले टाउकोको बायाँ छेउमा यस्तो चिन्हहरू देखायो, जुन आजकल डाक्टरहरूले नासोफेरिन्जियल क्यान्सर भएका बिरामीहरूमा देख्छन् । यो एक दुर्लभ क्यान्सर हो जसले नाक र मुख पछाडिको घाँटीको भागलाई असर गर्छ । यहाँ ७ मिमी व्यासको गोलाकार घाउ देखाइएको थियो । जुन ट्यूमरको कारण हुन सक्छ ।
विगतमा यस्ता सुरक्षित राखिएका शवहरू फेला परेका थिए जसमा क्यान्सरको सम्भावित लक्षणहरू देखिएका थिए । २०१७ मा, वैज्ञानिकहरूले दुई पुरातन इजिप्शियन सुरक्षित राखिएका शवहरूमा स्तन क्यान्सर र मल्टिपल माइलोमा फेला पारे, जुन संसारमा क्यान्सरको सबैभन्दा पुरानो ज्ञात केसहरू हुन् ।



