काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कका जुम्ल्याहा सन्तान सार्वजनिक भएका छन् । यी बच्चाहरूलाई टेस्लाका कर्मचारी शिवोन जिलिसले जन्म दिएको बताइएको छ ।
शिवोन जिलिस मस्ककै कम्पनि न्यूरालिंकको अप्रेशन प्रमुख भएको मिडिया रिपोर्टमा उल्लेख छ । यी बच्चाहरू नोभेम्बर २०२१ मा जन्मिएका थिए । मस्क र सिभोनले जुम्ल्याहाको नाम परिवर्तन गर्न निवेदन दिएका थिए । टेक्सास न्यायाधीशले नाम परिवर्तनको लागि आफ्नो स्वीकृति दिए ।
बिजनेश इनसाइडरका अनुसार यी बच्चाहरूको नामको अन्त्यमा मस्क र बीचमा शिवन हुनेछ । रिपोर्टले स्रोतलाई उद्धृत गर्दै ट्वीटरसँगको सम्झौतापछि शिवन यो कम्पनी चलाउने शीर्ष कर्मचारीहरूमा पर्न सक्ने बताएको छ । शिवन अहिले ३६ वर्षकी छन् र उनको लिंक्डइन प्रोफाइलले उनी न्यूरालिङ्ककी निर्देशक भएको बुझ्न सकिन्छ । शिवोनले मे २०१७ देखि मस्कसँग काम गर्न थालेकी थिइन् ।
शिवोन टेस्लाको आर्टिफिसियल इन्टेलिजेन्स टोलीमा परियोजना निर्देशक बनेकी थिइन् । उनले सन् २०१९ सम्म यो प्रोजेक्टमा काम गरेकी थिइन् । यी दुई जुम्ल्याहा सन्तानको घोषणासँगै अब मस्कका कुल सन्तानको संख्या ९ पुगेको छ । क्यानाडाली गायक ग्रिम्ससँग मस्कका दुई सन्तान छन् । उनको पूर्व पत्नी र क्यानाडाली लेखक जस्टिन विल्सनबाट ५ सन्तान छन् । मस्क र ग्रिम्सले एक सरोगेट महिलामार्फत आफ्नो दोस्रो सन्तानलाई जन्म दिएका थिए ।
मस्क सकेसम्म धेरै बच्चाहरू जन्माउने समर्थक हुन् । उनी बालबालिकालाई धेरै मन पराउछन् र मानव कम भएमा मानव सभ्यता समाप्त हुन्छ भन्ने विश्वास गर्छन् । उनले विगतमा भनेका थिए, पृथ्वीमा पर्याप्त मानिस छैनन्, यदि पृथ्वीमा बच्चाहरू छैनन् भने सभ्यता ध्वस्त हुनेछ । मेरा शब्दहरू सम्झनुहोस् । मस्कले भनेका कुरा अब उनको व्यक्तिगत जीवनमा पनि लागू हुन थालेको देखिएको छ ।




