समाचार

सागमा पदक जित्ने खेलाडी खोटाङमा पुरस्कृत

खोटाङ । तेह्रौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई खोटाङमा पुरस्कृत गरिएको छ । दिक्तेलमा मङ्गलबारदेखि शुरु भएको किराँत राई खेलकुद सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा सागमा पदक जित्ने सात खेलाडीलाई नगदसहित सम्मान गरिएको हो ।

दिक्तेलस्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको कार्यक्रममा साग प्रतियोगिताका स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई जनही रु १० हजारसहित सम्मान गरिएको आयोजक किराँत राई खेलकुद सङ्घका अध्यक्ष महेन्द्रकुमार राईले जानकारी दिए ।

सङ्घले १३ औं सागमा तेक्वान्दोमा स्वर्ण जित्ने सुशीला राई (सुनसरी) तथा उसुमा कास्य प्राप्त गर्ने अशोक खालिङ राई (इलाम), स्क्वासमा कास्य पाउने भावना सुनुवार (रामेछाप), आर्चरीका टोली व्यवस्थापक मीनाकुमारी राई (उदयपुर), बक्सिङका टोली व्यवस्थापक प्रमिला राई (झापा) र १२औं सागमा कबड्डीमा कास्य पाउने सम्झना राई (बारा) लाई सम्मान गरेको हो ।

कबड्डीकी राईलाई सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राई र किराँत राई यायोक्खा बेलायतका अध्यक्ष योगेश कोयुको तर्फबाट समेत रु १० हजारले सम्मान गरिएको छ । यस्तै मुआइथाई वर्ल्ड च्याम्पियन सञ्जयलाई पनि रु १० हजार नगद र सम्मानपत्र प्रदान गरिएको छ । विजेता खेलाडीलाई प्रदेश-१ का सामाजिक विकासमन्त्री राजन राईले नगद र सम्मानपत्र प्रदान गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *