मोरङ । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले ज्येष्ठ नागरिकका समस्या समाधानका लागि महानगरपालिका गम्भीर रहेको बताएका छन् ।
विराटनगरको पुष्पलालचोकस्थित महिला जागृति तथा वृद्धाश्रमले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्येष्ठ नागरिकलाई सम्मानितरूपमा बाँच्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । उनले भने, ‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको अनुशरण गर्न सके समाज समृद्ध हुन्छ । जीवनमा हरेक व्यक्ति ज्येष्ठ नागरिक हुन्छन् । वृद्धवृद्धालाई सम्मान गर्ने व्यक्तिले पनि भविष्यमा समाजबाट सम्मान पाउँदछन् ।’
उनले महिला जागृति तथा वृद्धाश्रमलाई महानगरका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘हाम्रोतर्फबाट यस संस्थालाई पूर्णरूपमा सहयोग रहन्छ’, महानगर प्रमुख कोइरालाले भने, ‘हामी महानगरमा आएको पनि धेरै भएको छैन, बुझ्दैछौँ के गर्न सकिन्छ गर्छौ ।’
कार्यक्रममा विराटनगर-१, २ र १९ वडाध्यक्षहरु क्रमशःकाजी बस्नेत, कुमार पोखरेल, श्याम घिमिरेले पनि महानगरका तर्फबाट वृद्धाश्रमलाई सहयोग गर्ने जानकारी दिए । वृद्धाश्रमका वरिष्ठ सल्लाहकार मणि अज्र्याल, अध्यक्ष भुवनेश्वरी आचार्य, सचिव मनमाया क्षेत्री, समाजसेवी कृष्ण कट्टेललगायतले वृद्धाश्रमको छानो चुहिन थालेको गुनासो गरे ।
खानाका लागि समस्या नभए पनि वृद्धाहरूलाई बस्न समस्या भएको उनीहरूले बताए । २३ वर्षअघि स्थापना भएको संस्थामा १२ वृद्धा बस्दै आएका छन् । पछिल्लो समयम ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा छाडेर सन्तानहरू विदेशिने गरेको र यसबाट ज्येष्ठ नागरिकलाई पर्न गएको समस्यालाई समाधान गर्न सरकारले पनि ज्येष्ठ नागरिकलाई मासिक रु चार हजार भत्ता दिने गरेको छ भने उनीहरूलाई बासका लागि आश्रम पनि वृद्धि भइरहेको छ । सन्तानको मोह त्यागेर आश्रममा बस्ने ज्येष्ठ नागरिकहरु राज्यतर्फ आकर्षित देखिन्छ ।




