खेलकुद

भारतसँगको अन्तिम टेस्टमा इङ्ल्याण्डको उत्कृष्ट प्रदर्शन

काठमाडौँ । भारतसँगको पाँचौँं तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इङ्ल्याण्डले उत्कृष्ट प्रदर्शन गरेको छ ।
चौथो दिनको समाप्तिमा ३७८ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ५७ ओभरमा ३ विकेट गुमाउँदै २५९ रन बनाएको छ ।

इङ्ल्याण्डका जोय रुट ७६ रन र जोनी बेयरस्टो ७२ रनमा अविजित रहे । चौथो विकेटका लागि रुट र बेयरस्टोले १५० रनको अविजित साझेदारी गरेपछि इङ्ल्याण्ड जित उन्मुख रहेको छ । अन्तिम दिन इङ्ल्यान्डलाई जितको लागि ११९ रन आवश्यक पर्दा ७ विकेट छ ।

इङ्ल्याण्डका ज्याक क्रली र एलेक्स लिसले १०७ रनको शतकीय पारी खेले । पहिलो पारीमा १३२ रनको अग्रता बनाएको भारतले दोस्रो पारीमा २४५ रन बनाएपछि समग्रमा इङ्ल्याण्डले ३७८ रनको लक्ष्य पाएको हो । इङ्ल्याण्ड विजयी भएमा पाँच टेस्ट खेलको श्रृङ्खला २-२ को बराबरीमा सकिने छ ।

पराजित भएमा इङ्ल्याण्डले ३-२ ले श्रृङ्खला गुमाउनेछ । त्यस्तै बराबरी हुँदा इङ्ल्याण्डले २-१ ले गुमाउनेछ । गएको वर्ष पाँच खेलको टेस्ट श्रृङ्खला अन्तर्गत ४ वटा टेस्ट सकिएपछि खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि हुँदा पाँचौँ टेस्ट रोकिएको थियो । गएको वर्षकै श्रृङ्खला अन्तर्गत भारत र इङ्ल्याण्डले अहिले पाँचौँ टेस्ट खेलेका हुन् । चार खेलमध्ये २ वटा भारतले र एउटा इङ्ल्याण्डले जितेका छन् । एउटा खेल बराबरीमा सकिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *