खेलकुद

नेपालको लगातार दोस्रो जित, रोहितकाे उत्कृष्ट प्रदर्शन

काठमाडौँ । क्यानाडा भ्रमणमा रहेको नेपालले टि२० अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबमाथि शानदार जित हात पारेको छ । आइतबार राति ओन्टारियोलाई ५५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

जितको लागि २ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको ओन्टारियो १९.३ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । ओन्टारियोका लागि बरुण सहदेवले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै, जेड मदमोर ३७ रनमा आउट भए ।

नेपालका सोमपाल कामीले २ विकेट तथा करण केसी, आदिल अन्सारी र किशोर महतोले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गरे । उनी ३१ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे । त्यस्तै, दीपेन्द्रसिंह ऐरी ५४ रनमा आउट भए ।

ओन्टारियोका रेमाण्ड, बरुण, किनान र हसनले १/१ विकेट लिए ।

पहिलो एकदिवसिय अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *