काठमाडौँ । शिवसेनाका विद्रोही नेता एकनाथ शिन्दे भारतको महाराष्ट्रको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । भारतीय जनता पार्टीको समर्थनसहित शिन्दे मुख्यमन्त्री बन्ने भएका हुन् ।
पूर्व मुख्यमन्त्री तथा भाजपा नेता देवेन्द्र फडणवीसले पत्रकार सम्मेलन गरेर एकनाथ शिन्देलाई महाराष्ट्रको मुख्यमन्त्री बनाउने घोषणा गरेका हुन् ।
शिन्देले शिवसेना प्रमुख उद्धव ठाकरे नेतृत्वमा रहेको आफ्नै सरकारविरुद्ध ३९ सांसद लिएर विद्रोह गरेका थिए । शिन्देको विद्रोहपछि एनसीपी र काँग्रेससहितको ठाकरे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । सरकार अल्पमतमा परेपछि ठाकरेले गएराती राजीनामा दिएका थिए ।
२०१९ मा भएको महाराष्ट्र विधानसभाको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेका शिवसेना र भाजपा २०१९ को नोभेम्बरमा गठबन्धन तोड्दै अलग अलग भएका थिए । त्यसपछि शिवसेनाले काँग्रेस र एनसीपीसँग मिलेर सरकार बनाएको थियो ।
तर अहिले शिवसेनाका नेता शिन्देले प्राकृतिक गठबन्धन तोडेको भन्दै ठाकरेविरुद्ध मोर्चा खोलेर विद्रोह गरेर भाजपासँग हात मिलाएका हुन् ।
भाजपाले हिन्दुत्वको मुद्धामा आफुहरुले शिन्देलाई समर्थन गरेको बताएको छ ।
एकनाथ शिन्देको राजनीतिक यात्रा
- १८ वर्षको उमेरमा शिवसेनाबाट आफ्नो राजनीतिक करियर सुरु गरेका थिए ।
- झण्डै डेढ दशक पार्टीमा काम गरेपछि सन् १९९७ को ठाणे नगरपालिकाको चुनावमा आनन्द दिघेले शिन्देलाई पार्षदको टिकट दिए ।
- पहिलो प्रयासमा सिन्दे यस नगरपालिकाको चुनावमा मात्रै जितेनन्, उनी ठाणे नगरपालिकाको सभामुख पनि बने ।
- त्यसपछि सन् २००४ मा उनले थाने विधानसभा सिटबाट चुनाव लडे र पहिलो प्रयासमा नै यहाँ विजयी भए ।
- त्यसपछि सन् २००९ देखि उनी लगातार कोपरी–पाचपाखाडी विधानसभा क्षेत्रबाट विधायक निर्वाचित हुदै आएका छन् ।
- उनी २०१५ देखि २०१९ सम्म राज्यको सार्वजनिक निर्माण मन्त्री थिए।




