काठमाडौँ । भारतको महाराष्ट्रको राजनीतिक संकट अब अन्तिम चरणमा पुगेको छ । बुधबार राति सर्वोच्च अदालतले शिवसेनाको तर्कलाई खारेज गर्दै बिहीबार नै फ्लोर टेस्ट गराउन आदेश दिएपछि मुख्यमन्त्री उद्धव ठाकरेले आफ्नो पदबाट राजीनामा गरेका छन् ।
बुधबार राति करिब ११.१५ बजे उद्धव ठाकरे आफै राजभवन पुगेर राजीनामा दिएका थिए । उद्धव राजिनामा दिन राज्यपालकहाँ पुगेपछि गभर्नरले वैकल्पिक व्यवस्था नभएसम्म पदमा बहाल रहन भनेका छन् ।
सत्तारुढ दल शिवसेनाका विधायकहरुले विद्रोह गरेपछि सरकार अल्पमतमा परेको थियो । महाराष्ट्र विधान सभामा ५६ सिट रहेको शिवसेनाका ४० भन्दा बढी विधायकले एकनाथ शिन्देको नेतृत्वमा विद्रोह गर्दै सरकारको साथ छोडेका थिए ।
विद्रोही विधायकहरूको समूह बुधबार राति गोवा पुगेको भारतीय मिडियाहरुले बताएका छन् । उनी साँझ गुवाहाटीबाट चार्टर्ड विमानमा गोवा प्रस्थान गरेका थिए । उनीहरुले र्याडिसन ब्लु होटलबाट चारवटा चार्टर्ड बसमा बिमानस्थल प्रस्थान गरेका थिए र बाटोमा उनीहरुले विजय चिन्ह पनि देखाएको बताइएको छ ।
मुख्यमन्त्रीले राजीनामा दिएपछि अब महाराष्ट्रमा नयाँ सरकारको बाटो खुलेको छ । अब भारतीय जनता पार्टीको नेतृत्वमा सरकार बन्न सक्ने अनुमान गरिएको छ ।




