काठमाडौ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट सङ्घ (नाटा) १ नं प्रदेशले चरा अनुसन्धान तथा संरक्षणको क्षेत्रमा अतुलनीय योगदान पु¥याएवापत मेचीनगरका देबेन खरेललाई आज सम्मान गरेको छ ।
सङ्घले आफ्नो १०औँ वार्षिक साधारणसभाको अवसर पारेर विर्तामोडमा आयोजित कार्यक्रममा उहाँलाई रु पाँच हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । विगत छ वर्षदेखि नेपालमा रहेका चरा तथा वन्यजन्तुको खोज तथा फोटोग्राफी गरिरहनुभएका खरेलले लोपोन्मुख हङ्रायो, हरित परेवालगायतका दुर्लभ चरा पूर्वी नेपालमा अस्तित्वमा रहेको सप्रमाण प्रस्तुत गरेर देश–विदेशबाट प्रशंसा पाएका थिए ।
उहाँको खोजबाट नेपालको पर्यटन प्रवद्र्धन र प्राकृतिक वातावरण संरक्षणका क्षेत्रमा योगदान पुगेको सङ्घले जनाएको छ । खरेलले हालसम्म मेचीनगर नगरपालिकाभित्र मात्र भेटिएका ३०० भन्दा बढी प्रजातिका चराको तस्वीर आफँैले खिच्ने सफलता पाएका छन् । नेपाल चरा पर्यटनको हब बन्ने उनकाे धारणा छ । कोसीटप्पु, चितवन राष्ट्रिय निकुञ्ज, जगदीशपुर ताल आदिको अध्ययन गरिसक्नुभएका खरेलले वन्यजन्तु आरक्ष क्षेत्र र रामसार क्षेत्रबाहेक खुला क्षेत्रमा तुलनात्मकरूपमा मेचीनगरमा धेरै प्रजातिका चरा पाइएको जिकिर गरे ।
सङ्घका प्रदेश नं १ का अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा भएको सम्मानमा सङ्घका केन्द्रीय अध्यक्ष रमेश थापाले चरा खोजकर्ता खरेल मुलुककै प्रतिभा भएको बताए ।




