काठमाडौं । भारतीय गायक तथा कांग्रेस आईका नेता सिद्धु मुसेवालाका हत्यारा खोज्दै दिल्ली प्रहरीको टोली काठमाडौं आइपुगेको छ । नेपाल प्रहरीसँग समन्वय गरेर उक्त टोली काठमाडौं आएको प्रहरी उच्च स्रोतले जनाएको छ ।
मुसेवालाका हत्यारा नेपाल लुकेर बसेको र उनीहरुलाई खोज्न भारतीय प्रहरीको टोली काठमाडौं आएको इण्डिया टुडेले जनाएको छ । नेपाल प्रहरीका उच्च अधिकारीले भने हत्यामा संलग्नहरु नेपाल आएको पुष्टि नभइसकेको तर भारतीय प्रहरीले उनीहरुको खोजीमा सहयोग गर्न आग्रह गरेको बताएका छन् ।
गत आइतबार साँझ २८ वर्षे मुसेवालाको पन्जाबमा ३० राउण्ड गोली हानेर हत्या भएको थियो । मुसेवाला हत्यामा संलग्न रहेको आरोपमा हरियाणाका दुई जना फतेहाबादबाट पक्राउ परे पनि अरु फरार छन् । मुसेवालाको हत्याको जिम्मा लरेन्स बिश्नोई ग्याङस्टरले लिएको छ । विधानसभामा कांग्रेस आईको उम्मेदवार मुसेवाला मानसा निर्वाचन क्षेत्रमा आम आदमी पार्टीका उम्मेदवारसँग पराजित भएका थिए ।




