समाचार

संसदमा गंगा चौधरीको प्रश्न –५२ जिल्लाका महिलाले विवाहअघि नै स्थायी बन्ध्याकरण गर्छन् ?

काठमाडौं । एमालेकी सांसद गंगा चौधरीले सरकारले स्वास्थ्य सेवा प्रदानमा विभेद गरिएको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले केही जिल्लाका लागि मात्र सीमित रोगी र सुत्केरीलाई भत्ता उपलब्ध गराउने कार्यक्रमले विभेद गरेको भन्दै आपत्ति जनाइन् ।

जटिल रोगका बिरामीलाई दिइने पाँच हजारभत्ताले औषधि किन्न पनि नपुग्ने भन्दै उनले आफू सिकलसेल एनिमियाको रोगी रहेको दैनिक एक हजार रुपैयाँको औषधि खानेको गरेको जानकारी दिइन् ।

तर, गरिब तथा निम्न आय भएका सिकलसेल एनिमियाका रोगीले औषधि पनि खान नसक्ने अवस्था रहेको बताउँदै भनिन्, ‘क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार दिन अब बन्द गर्नुस् । भीआईपीले पाउने उपचार खर्च गरिब जनतालाई दिनुस् । तपाईंहरुले ३० लाख खर्च गरेर मिर्गौला प्रत्यारोपण र डायलासिस गर्ने, अनि गरिब जनतालाई पाँच हजारले ललिपप देखाउन खोजेको हो ?

२५ जिल्लामा सुत्केरी भत्ता दिने सरकारको कार्यक्रमले पनि जनतालाई विभेद गरेको भन्दै उनले बाँकी ५२ जिल्लाका महिला विवाहअघि बन्ध्याकरण गरेका हुन्छन् वा उनीहरुले बच्चा नै जन्माउनु नपर्ने हो भन्दै प्रश्न गरिन् ।

‘५२ जिल्लाका दिदीबहिनीहरुले विवाहअघि स्थायी बन्ध्याकरण गरेर विवाह गर्छन् ? तिनीहरुले बच्चा जन्माउनु पर्दैन ? ५२ जिल्लामा गरिब, विपन्न महिला छैनन् ? विभेदकारी तपाइँहरुको समाजवाद यही हो ? चौधरीले प्रश्न गरिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *