समाचार

झापा ‘बी’ डिभिजनमा बढुवा हुँदा वीरगन्ज रेलिगेसनमा 

काठमाडौं । मोफसलको झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको एक खेल अगावै ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । 

सोमबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको १२औं चरणको खेलमा विरगंज युथ एकेडेमीलाई ५-० ले पराजित गर्दै झापाले एक खेल अगावै ‘बी’ डिभिजन लिगमा आफ्नो स्थान पक्का गरेको हो । 

झापालाई जित दिलाउन पुजन राईले चार गोल गर्दा अर्को एक गोल सन्तोष लावतीले गरे ।

यस्तै, आजको हारसँगै वीरगञ्ज युथ भने ‘सी’ डिभिजन लिग छनोटमा घटुवा भएको छ ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको झापाले ३१ अंक जोडेको छ । जुन दोस्रो स्थानको प्लानिङ ब्वाइज युनाइटेड क्लबको भन्दा तीन अंक बढी हो । यस्तै, तेस्रो स्थानको आरसी ३२ फुटबल एकेडेमीको पनि २८ अंक छ । वीरगन्जको १२ खेलबाट ५ अंक छ । 

झापाले लिगमा आरसी ३२ लाई हराएको र प्लानिङ ब्वाइजसँग बराबरी गरेको कारण एक खेल अगावै दोस्रो डिभिजनको टिकट काटेको हो ।

झापाले अन्तिम खेलमा स्वयम्भू क्लबसँग खेल्नेछ । यस्तै, प्लानिङ ब्वाइजले ओसिस क्लब र आरसी ३२ ले स्पोर्टस एकेडेमी साँगासँग खेल्नेछ । 

आजै भएको पहिलो खेलमा प्लानिङ ब्वाइजले समाज कल्याण खेलकुद केन्द्रलाई ४-० ले पराजित गरेको थियो ।

आजको खेलसँगै सी डिभिजन लिगबाट घटुवामा पर्ने दुई टोलीको टुङ्गो लागेको छ । तालिकाको पुछारमा रहेको ओसिस क्लब यसअघि नै घटुवामा परिसकेको छ ।

अब, प्लानिङ ब्वाईज क्लब र आरसी ३२ मध्य एक दोस्रो डिभिजनमा बढुवा हुनेछन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *