समाचार

हङकङका नयाँ नेता लीले यही महिना बेइजिङमा नियुक्ति लिने, सीलाई भेट्ने

काठमाडौं । हङकङका आगामी नेता जोन ली का-चिउले यसै महिना चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्ने भएका छन् । जहाँ उनले प्रधानमन्त्री ली खछ्याङबाट प्रमुख कार्यकारीका रुपमा आफ्नो नियुक्तिको आधिकारिक पत्र पनि लिनेछन् र आफ्नो टिमका सदस्यहरुको नामावली अनुमोदनका लागि केन्द्र सरकारलाई बुझाउने छन् ।

लीको सरकारमा सहभागी हुनेहरुको खोजी प्रक्रियालाई हङकङ तथा मकाउ मामिला कार्यालयका कार्यकारी उपनिर्देशक चाङ स्यायोमिङले रेखदेख गरिरहेको जानकार स्रोतले बतायो । वित्त सचिव पौल चान र न्याय सचिव टरिसा चेङ आफ्नो पदमा कायम रहने सम्भावना ज्यादा रहेको स्रोतको भनाइ छ ।

यही महिना बेइजिङ यात्राको तयारी गर्न लीलाई भनिएको स्रोतले जानकारी दियो। मे ८ को निर्वाचनमा ली बिना प्रतिस्पर्धा ९९.२ प्रतिशत मतसहित हङकङको प्रमुख कार्यकारी पदमा निर्वाचित भएका थिए ।

गत शुक्रबार चीनको स्टेट काउन्सिलले लीको नियुक्तिको अनुमोदन गरेको थियो। प्रमुख कार्यकारीले सम्मुख भेटेरै प्रधानमन्त्रीबाट नियुक्ति लिने अभ्यास छ । त्यसपछि राष्ट्रपति र अन्य वरिष्ठ अधिकारीले बेग्लै भेट्ने चलन छ ।

२०१७ मा क्यारी लाम र २०१२ मा लियुङ चुनयिङ दुवैले निर्वाचित भएको दुई साताभित्रै बेइजिङ पुगेर नियुक्ति लिएका थिए । तर, कोभिड नियमका कारण ली अझै पनि त्यसको प्रतीक्षामा छन् । ‘लीले राष्ट्रपति सीलाई भेट्न सक्छन् । त्यसैले उनी छोटो क्वारेन्टिन बस्नुपर्ने पनि हुनसक्छ,’ स्रोतले भन्यो । लीले शपथ लिन ४० दिन बाँकी छ । उनले जुलाई १ मा शपथ लिनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *