भक्तपुर । चागुनारायण नगरपालिकाको मेयर निर्वाचित भएलगत्तै जीवन खत्रीले सवारी दुर्घटनामा परी शारीरिक रूपमा अशक्त बनेका बाल्यकाल देखिका साथी रोषण पौडेललाई घरमै पुगेर भेटेका छन ।
नवनिर्वाचित मेयर खत्री उनका सहकर्मी साथी गोविन्द थापासहित रोषण पौडेलको घरमा पुगेर जन्मदिनको शुभकामना दिनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन । स्वास्थ्यलाभको कामना गर्न पुगेका मेयर खत्रीले पौडेलको परिवारलाई सान्त्वना र हौसला समेत दिएका छन ।
मेयर खत्रीका वाल्यकाल देखिका सहपाठी तथा नेविसंघ भक्तपुरका नेता समेत रहेका पौडेल करिव १० वर्ष अघि सवारी दुर्घटनामा परी प्यारालाइसेस भएर परिवारको साहारामा स्वास्थ्योपचार र जीवन चलाइ रहेका छन ।
नेपाल विद्यार्थी संघको राजनीतिक पृष्ठभूमिबाट पार्टी राजनीतिमा जमेका चागुनारायण नगरपालिकाका नवनिर्वाचित मेयर खत्री भक्तपुर कांग्रेसको क्षेत्रीय सभापति हुन । लोकप्रिय मत ल्याएर स्थानीय तह निर्वाचन २०७९ मा चागुनारायण नगरपालिकाको नगरप्रमुख पदमा फराकिलो मतान्तरले निर्वाचित भएका हुन ।




