काठमाडौं । श्रीलंका जारी प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले प्रदर्शनकारीहरुमाथि गोली चलाउन आदेश दिएको छ ।
इतिहासकै खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा राष्ट्रपति गोताबाय राजपाक्षको राजीनामा माग गर्दै प्रदर्शन भइरहेको छ ।
सोमबार श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षले आफ्नो पदबाट राजीनामा दिएका थिए तर उनको राजीनामाले पनि श्रीलंकामा प्रदर्शन भने रोकिएको छैन । मंगलबार सरकारले कर्फ्यु उल्लंघन गरी आगजनी गर्ने र सार्वजनिक सम्पत्ति लट्नेमाथि गोली चलाउन निर्देशन दिएको छ । श्रीलंकाको सरकारले मंगलबार लगाएको कर्फ्यु बिहीबारसम्मको लागि लम्ब्याएको छ ।
ठूलो संख्यामा कोलम्बोमा सैनिक तथा सुरक्षाकर्मीहरु परिचालन गरिए पनि सोमबारयता प्रदर्शनकारीसँग भएको झडपको कारण २०० भन्दा धेरै मानिस घाइते भएको बीबीसीले उल्लेख गरेको छ । यो क्रममा सात जनाको मृत्यु भएको छ ।
मंगलबार प्रदर्शनकारीहरुले ५० भन्दा धेरै राजनीतिज्ञहरुको घरमा आगजनी गरेका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार प्रदर्शनकारीहरुले सरकारका मन्त्रीहरुदेखि सांसदसम्मका नेताहरुको घरमा आगजनी गरेका हुन् ।
यसरी आगजनी गरिएका घरहरुमध्ये चारा घरहरु राजपाक्ष परिवारसँगको सम्बन्धित घरहरु छन् । प्रदर्शनकारीहरुले सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएका महिन्दा राजपाक्षेका साथै बासिल राजपाक्ष र चामल राजपाक्षको घरमा पनि आगजनी गरेका थिए । प्रदर्शनकारीहरुले राजपाक्षका पिताको सम्झनामा बनाइएको शालिक पनि तोडफोड गरेका छन् ।
समाचारमा उल्लेख गरिएअनुसार आगजनीको कारण वर्तमान तथा पूर्व सरकारी मन्त्रीहरुको १४ वटा घर तथा कार्यालयमा आगजनी भएको छ । त्यस्तै २७ सांसदको घर तथा कार्यालयमा आगजनी गरिएको छ । करिब एक महिनादेखि श्रीलंकामा सुरु भएको शान्तिपूर्ण विरोध प्रदर्शनले सोमबारदेखि हिंसात्मक रुप लिएको हो ।




