समाचार

राष्ट्रिय भलिबल प्रतियोगिता : महिलातर्फ आर्मी र पुलिसको विजयी सुरुवात

काठमाडौं । छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताअन्तर्गत दोस्रो दिनबाट महिलातर्फको खेल सुरु भएको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित हात पार्दा एपीएफ क्लब भने पराजित भएको छ ।

दिनको पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । आर्मीले एभरेस्टमाथि २५–१९, २५–७, २५–१८ को सेटमा जित निकाल्दै सुरुवाती तीन अंक जोड्यो । दिनको दोस्रो खेलमा एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिसले विजयी सुरुवात गर्‍यो । सुरुवाती दुई सेट गुमाएको एपीएफले तेस्रो सेट जित्दै खेलमा फर्कने कोसिस गरे पनि सफल हुन सकेन ।

पुलिसले भने एपीएफलाई सुरुवातबाटै दबाबमा राख्न सफल भयो । पुलिसले सुरुवाती दुई सेट २५-२०,२५-२३ ले जित्दा तेस्रो सेट एपीएफले २५-१७ जित्यो । तर, चौथो सेट २५–१६ ले जित्दै पुलिसले महत्त्वपूर्ण तीन अंक हात पार्‍यो । आज नै पुरुषतर्फका तीन खेल हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *