
याङ्गुन । म्यानमारको सशस्त्र फौज तात्माडले गत वर्ष सत्ता कब्जा गरेयता म्यान्मार खतरनाक गृहयुद्ध तर्फ धकेलिएको छ । सैनिक शासनको दमनबाट आजित केही सेना एवं प्रहरीले समेत सेवा छोडिरहेका छन् । अहिले त्यहाँ फेसबुक र टेलिग्राम एकाउन्टले सुसज्जित एउटा भूमिगत सञ्जालले सैन्य पेशा छाड्न चाहनेहरूलाई सहयोग गरिरहेको छ ।
एग्ने ले (अवास्तविक नाम) यसै सञ्जालको एक सदस्य हुन् । उनी आफ्नो फोनमा आउने सन्देश धैर्यपूर्वक पर्खिरहन्छन् । पाँच मिनेटपछि उनले तात्माड छोड्ने विचारमा रहेका तर पक्राउ पर्ने डर रहेको एक जना सैनिकलाई तत्काल सहयोग चाहिएको सन्देश प्राप्त गरे ।
‘के मिस्टर लेले मद्धत गर्न सक्छन् ?’ ४४ वर्षीय लेलाई जस्तै ‘पिपुल्स एम्व्रेस’ नामक सञ्जालका सयौं स्वयमसेवकलाई प्रहरी र सेनाबाट भाग्न चाहनेहरूका यस्ता सन्देश आउने रहेछन् । म्यानमारको अज्ञात स्थानबाट अनलाइनमार्फत् यो काम गरिरहेका ले भन्छन्, ‘यसरी ‘पेशा छाड्न चाहनेहरूले हामीलाई टेलिग्राममा सम्पर्क राख्न’ आग्रह गर्दै फेसबुकमा विज्ञापन दिने गर्दछौं ।’
तात्माडले पनि तिनीहरूको नेटवर्कमा छिर्ने प्रयास गरिरहेको छ । लेका अनुसार उनका पूर्व सैनिक साथीहरूले उनलाई भेटाएको खण्डमा मृत्युदण्ड समेत दिन सक्छन् । गत वर्ष सेनाले जननिर्वाचित सरकार अपदस्थ गरेयता म्यानमारको गहयुद्ध निकै हिंसात्मक बन्दै गएको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पुनर्निर्वाचित नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) सरकारलाई तात्मडले २०२१ को १ फेब्रुअरीमा अपदस्थ गरेको थियो ।
कुनै समय सर्जेन्ट रहेका लेले आफ्ना वरपर देखेका विसंगतिहरूका उत्तर भेटाउनका लागि सामाजिक सञ्जालको सहयोग लिएका हुन् । उनी भन्छन्, ‘मैले सेनाले गैरन्यायीक ढंगले मानिसहरू मारेको भिडियो भेटाएको छु । मैले मानिसहरूलाई नियतवश टाउकोमै गोली ठोकेर मारेको प्रत्यक्ष देखेको छु । मेरो किशोर छोरोलाई पनि सेनामा भर्ति गर्ने प्रस्ताव आएपछि भने म आत्तिएँ ।’
छोरालाई सेनामा नल्याए सजाय हुने भन्दै तर्साएपछि लेले फौजी काम छाडेर भाग्ने निधो गरे । सैनिक विद्रोह भएको पाँच महिनापछि ले परिवार लिएर पहाडी इलाका तर्फ भागेका थिए । त्यतिबेला पनि उनको परिवारलाई ‘पिपुल्स एम्ब्रेस’ ले नै मद्दत गरेको थियो ।