वासिङ्टन । रुसी प्रेमिका भेट्न र रुसी भाषा पढ्न उनी सन् २०१९ मा मस्को पुगे । उनी-ट्रेभर रिड, वर्ष ३०, टेक्सस, अमेरिका ।
एक रात रक्सीले मात्तिएको अवस्थामा ट्रेभर रुसी प्रहरीको फन्दामा परे । उनलाई प्रहरीले चौकीतर्फ लैजाँदै थिए । उनले नशाको तालमा प्रहरीमाथि हातपात गरेको अभियोग लाग्यो । सोही अभियोगमा उनलाई सन् २०२० मा नौ वर्ष लामो जेल सजाय सुनाइयो ।
यता, पढ्न र प्रेमिका भेट्न रुस गएको छोरो जेल परेपछि टेक्ससको डल्लासमा रहेका उनका माता पिता बेचैन बने । छोरोको रिहाइका लागि हारगुहार गर्न थाले । राष्ट्रपतिसँग भेट्न ह्वाइट हाउस बाहिर प्रदर्शन गर्नु पर्यो । अन्ततः राष्ट्रपति जो बाइडेनसँग भेट भेट भयो । राष्ट्रपतिको पहलपछि ट्रेभर रिहा भएका छन् । उनी बन्दी साटासाट कार्यक्रम अन्तरगत रिहा भएका हुन् । उनको बदलामा अमेरिकाले लागुऔषध कारोबारको अभियोग लागेका रुसी नागरिक कोन्सतान्तिन योरोसेनकोलाई रिहा गरेको छ ।
राष्ट्रपति बाइडेनले रिड दम्पतीलाई फोन गरेर ट्रेभर रिहा भएको खबर सुनाए । छोरा जेलमुक्त भएको खबर सुनेर उनीहरू हर्षित भएका छन् । ‘उनी जन्मेको दिनमा जस्तै खुशी लागेको छ’, ट्रेभरकी आमा जोयीले खुशी व्यक्ति गरिन् । छोरा जेलमुक्त भएपछि रिड दम्पती राष्ट्रपति बाइडेनप्रति कृतज्ञ छन् । उनीहरूले आफ्नो छोराको जीवन बचाएकोमा राष्ट्रपति बाइडेनलाई धन्यवाद दिएका छन् ।
बाइडेनले पनि ट्रेभरको मातापितालाई उनी घर फर्कदै छन् भनी खबर सुनाउन पाउँदा आफूलाई निकै खुशी लागेको बताएका छन् । राष्ट्रपति बाइडेनले ट्रेभरलाई घर फर्काउन त्यति सजिलो नभएको पनि बताए । ‘ट्रेभरलाई घर फर्काउनका लागि भएको वार्तामा निणर्य गर्न हामीलाई निकै कठिन भएको थियो’, उनको रिहाइबारे बाइडेनले भनेका छन्, ‘त्यसलाई म हल्का ढंगले लिदिँन ।’
ट्रेभर रिड अहिले अमेरिका फर्कने क्रममा बाटैमा छन् । अमेरिका पुग्नसाथ उनलाई थुप्रै दिन स्वास्थ्य उपचारको लागि अस्पताल राखिने कार्यक्रम छ । उनका आमा बुबा जोयी र पाउला रिडले आफ्नो छोरालाई कारागारमा दुर्व्यवहार गरिएका कारण उनलाई क्षय रोग संक्रमण भएको जस्तो देखिएको बताएका छन् ।




