टोकियो । विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको मृत्यु भएको हो ।
उनी जन्मेको वर्ष राइट दाजुभाइले पहिलोपटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोवेल पुरस्कार विजेताका रुपमा म्यारी क्युरीले नोवेल पुरस्कार प्राप्त गरेकी थिइन् । जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा उनी बस्दै आएकी थिइन् । उनको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरूले बताउँदै आएका थिए । उनलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो ।
नसिङ होममा रहँदा उनी बोर्ड गेम्समा रमाउथे भने हिसाबका प्रश्नोत्तर लेख्दै बस्थिन् । त्यसैगरी सोडा र चकलेटहरू खाने गर्थिन् । उनले बयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसायहरू चलाएकी थिइन् ।
उनले ठिक एक शताब्दी अगाडि सन् १९२२ मा १९ वर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गरेकी थिइन् । उनले चार सन्तान जन्माएकी थिइन् । खेलकुदमा निकै रुचि राख्ने तानाकाले सन् २०२१ मा भएको टोकियो ओलम्पिक खेलकुद प्रतियोगिता प्रत्यक्ष हेर्न जाने रहर गरेकी थिइन् । तर कोरोना भाइरसको महामारीका कारण उनीलाई खेल मैदान लगिएको थिएन ।
विश्वकै सबैभन्दा जेष्ठ नागरिकको रूपमा उनको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यतिबेला उनीले यो आफ्नो जीवनको सबैभन्दा बढी खुसीकाे क्षण भएको बताएकी थिइन् ।




