समाचार

प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन् । भ्लादिमिर इल्यिच लेनिनको १५२ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले साझा संघर्षबाट तत्कालका लागि मात्र प्रतिगमन पराजित भएको बताए ।

उनले लेखेका छन्, ‘शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार गर्‍यो । वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो । तर, प्रतिगमनको खतरा पूणर्तः अन्त्य भएको छैन ।’

उनले संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता-कार्यकर्तालाई विजयी गराउन आग्रह गरेका छन् । ‘प्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम-लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धीहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ । यही मान्यताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निणर्य गरेको छ ।’

जारी सन्देश भनिएको छ, ‘आगामी निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता-कार्यकर्ता र सम्पूणर् न्यायप्रेमी जनसमुदायमा विशेष अपील गर्दछु ।’

शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार भएको उनको दाबी छ । वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षले प्रतिगमन पराजित भएपनि अन्त्य नभएको उनको जिकिर छ ।

जारी सन्देश भनिएको छ, ‘दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवं तानाशाही प्रवृत्तिविरूद्ध संघर्ष गर्दै प्राप्त उपलब्धीहरूको रक्षासहित समाजवादको आधार तयार पार्नु यतिबेला सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी हुन आएको छ ।’

शुभकामना सन्देशमा रूसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको अवसर पारेर स्थापना गरिएको नेकपाले ७३ वर्षको अन्तरालमा देशभित्र आमूल परिवर्तनको नेतृत्व गरेको उल्लेख छ । ‘कम्युनिस्ट क्रान्तिकारीहरूको अगुवाइ र लोकतान्त्रिक शक्तिहरूको हिस्सेदारीमा पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशेषता र मौलिकतासहित सम्पन्न भएको छ, देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्व सन्ध्यामा छ । यो हामी सबै नेपालीहरूका लागि गौरवको कुरा हो’, सन्देशमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *