राजनीति

सत्ता साझेदार बिच भागबन्डा मिल्यो तर उम्मेदवारको टुङ्गो लगाउन बाँकी

ताप्लेजुङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सत्ता साझेदार दलहरूले पदीय भागबन्डाको टुङ्गो लगाएका छन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने सत्तारुढ दलबिचको निर्णयअनुसार यहाँ स्थित सत्ता साझेदार दलहरूले विभिन्न चरणमा छलफल गरेर बुधबार भागबन्डाको टुङ्गो लगाएका हुन् ।

एक नगरपालिकासहित यहाँका ९स्थानीय तहमध्ये सात स्थानीय तहको नेतृत्व काँग्रेसले लिने र दुई वटामा भने माओवादी केन्द्रले नेतृत्व लिने भएको छ ।

फुङलिङ नगरपालिकासहित पाथीभरा, याङ्वरक, सिरीजङ्घा, सिदिङ्वा, आठराई त्रिवेणी, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको नेतृत्व काँग्रेसको भागमा परेको छ भने मैवाखोला र फक्ताङ्लुङ गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रको भागमा परेको छ ।

मेरिङ्देन, मैवाखोला र फक्ताङ्लुङ गाउँपालिका बाहेक सबै ठाउँमा काँग्रेसले नै उपप्रमुखको पद लिने भएको छ । सत्ता साझेदार दल नेकपा एकीकृत (समाजवादी)ले भने मेरिङ्देन गाउँपालिकाको उपप्रमुखसहित सात वटा वडाको नेतृत्व पाएको बताइएको छ । यस्तै काँग्रेसले ३९, माओवादी केन्द्रले १५ वटा वडाको नेतृत्वमा प्रतिस्पर्धा गर्ने भएको छ । स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेल गरी भागबन्डाको टुङ्गो लगाइएको दलहरूले बताएका छन् ।

भागबन्डा भएसँगै आ–आफ्ना उम्मेदवारको टुङ्गो लगाउन दल आन्तरिक कसरतमा जुटेका छन् ।

यता (नेकपा एमाले)ले समेत पाँच वटा स्थानीय तहका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लगाएको छ । फक्ताङलुङ ७ बाहेक सबै वडाका अध्यक्ष पदका उम्मेदवारकोसमेत टुङ्गो लागेको उक्त दलले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *