काठमाडौं । सत्ता गठबन्धनको भागबन्डामा नेपालगञ्ज उपमहानगरको नेतृत्वबाट जनता समाजवादी पार्टी बाहिरिएपछि जिल्लास्तरबाटै गठबन्धनको निर्णयलाई लत्याउँदै उम्मेदवारी दिने संकेत देखिएको छ ।
बाँकेका चार स्थानीय तहमा कुनै पनि हालतमा गठबन्धन नगर्ने निर्णयमा पुगेर केन्द्रलाई पत्राचार गरेको जनता समाजवादी पार्टीले केन्द्रले कार्यकर्ताको भावनाविपरीत गरेको गठबन्धन नमान्ने संकेत दिएको छ ।
पार्टी बाँके अध्यक्षसमेत रहेका नेपालगञ्ज उपमहानगरपालिकामा मेयरका आकांक्षी कमरुद्दिन राईले केन्द्रको गठबन्धनको निर्णय स्वीकार गर्न नसकिने अवस्थामा रहेको बताए । ‘हामी अहिले बैठकमा रहेको उनको भनाइ छ । कार्यकर्ताको चौतर्फी दबाबमा छौं । लगभग केन्द्रले लादेको गठबन्धनको निर्णय नमान्ने अवस्था नजिक पुगेका छौ, केही बेरमा निर्णय आउँछ उनले भने ।
पार्टीले बाँकेका चार पालिकामा गठबन्धन नगर्ने भनी केन्द्रलाई पठाएको जिल्लाको निर्णयलाई केन्द्रले बेवास्ता गरेर अपमान गरेको उनको ठम्याइँ छ । उनले केन्द्रको निर्णय मान्न नसकिने स्पष्ट पार्दै भने, ‘जिल्लाको वस्तुस्थिति नबुझेर केन्द्रका नेताले मनोमानी ढंगले गरेको निर्णय स्विकार्न सकिँदैन ।’
गठबन्धनको निर्णयपछि पार्टीका नेता तथा कार्यकर्ताहरूको तीव्र आक्रोश देखिएको छ । सो निर्णय नमान्ने दबाब जसपा नेतृत्वलाई रहेकाले पनि गठबन्धनको निर्णय मान्न नसकिने जसपा निकट उच्च स्रोतले जानकारी दियो । जसपा उच्च स्रोतका अनुसार बाँकेका चार पालिकामा फरक निर्वाचन चिन्ह लिएर भए पनि प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेको छ ।




