समाचार

बृहस्पतिको उपग्रह ‘युरोपा’ मा प्राणी हुनसक्ने सम्भावना उच्च

डेली बिस्ट । बृहस्पतिको उपग्रह युरोपामा ‘जीवन’ हुन सक्ने उच्च सम्भावना भएको एक अध्ययनले देखाएको छ ।
युरोपामा बरफको तहमुनि ठूलो महासागर रहेको र पानी हुने ठाउँमा प्राणीको अस्तित्व हुने सम्भावना हुने अनुसन्धानकर्ताहरूले बताएका छन् । पृथ्वीको एक चौथाइ व्यास रहेको युरोपामा पानीको मात्रा भने पृथ्वीको भन्दा दोब्बर छ ।

यद्यपि, बरफको तह १० देखि १५ माइल बाक्लो रहेकोले युरोपामा प्राणी भेट्टाउने कल्पना गर्नु निकै चुनौतीपूणर् रहेको उनीहरूको भनाइ छ । अहिलेसम्म मानिसले पृथ्वीमै पनि ७ दशमलव ६७ माइलसम्म मात्र खन्न सकेका छन् ।

मंगलवार ‘नेचर कम्युनिकेसन’ मा प्रकाशित नयाँ अध्ययनले पहिले सोचिए भन्दा बरफको तह निकै छिद्रदार हुन सक्ने जनाएको छ । बरफमा पनि पानी भरिएको हुने देखिएकाले त्यसले प्राणीको अस्तित्व हुन सक्ने सम्भावनालाई बल दिने बताइएको छ । त्यसैले स्थिति अहिले सोचे अनुरूप विषम नहुन पनि सक्ने बताइएको छ ।

अमेरिकाको नासाले सन् २०२४ को अक्टोबरमा ‘युरोपा क्लिपर’ नामक घुम्ने अन्वेषक यान प्रक्षेपण गर्ने योजना बनाएको छ । सो यान सन् २०३० को अप्रिलमा युरोपा पुगिसक्ने अनुमान गरिएको छ । यसमा जडित बरफभित्र छिर्न सक्ने रडारले युरोपाको बरफयुक्त तहबारे धेरै रहस्य खोल्ने अपेक्षा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *