काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगामा उपाधि होडलाई बलियो बनाएको छ । गएराति भएको खेलमा ओसासुनामाथि ३–१ को सहज जित निकाल्दै रियलले शिर्षस्थानमा अग्रता कायम राख्न सफल भएको हो ।
खेलको १२ औं मिनेटमा डेभिड अलाबाले गोल गर्दै रियललाई अग्रता दिलाए । तर त्यसको अर्को मिनेटमै ओसासुनाका एन्टिी बुडिमिरले गोल फर्काउँदै घरेलु टोलीलाई बराबरीमा ल्याए । त्यसपछि ४५ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई पुनः २-१को अग्रता दिलाए ।
तर, खेलको ५२ औं र ५९ औं मिनेटमा रियलका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा पेनाल्टीमा गोल गर्नबाट चुके । त्यसपछि खेलको इन्जुरी समयमा लुकास भास्क्वेजले गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।
जितसँगै रियल उपाधि नजिक पुगेको छ । रियललाई अब ५ खेलबाट केवल ४ अंकको खाँचो छ । ३३ खेलमा ७८ अंक जोडेको रियल शीर्ष स्थानमा रहँदा ६१ अंकसहित एट्लेटिको म्याड्रिड दोस्रो स्थानमा छ ।




