काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताएका छन् ।
नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले २०७९ संघ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहकाले देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताए । शुभकामना सन्देशमा उनले संविधान, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि आफूहरु जनताको साथमा हुने बताए ।
“समाजको शान्तिपूर्ण रुपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्ने छौँ भन्नेमा हामी विश्वस्त छौँ, यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएका हौँ,” उनले शुभकामना सन्देशमा भनेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेको नेपालले जारी गरेको सन्देशमा आजसम्म जनसंघर्ष, जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा एवम् विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक–आर्थिक–सांस्कृतिक रुपान्तरणमार्फत् समाजवादी आन्दोलन सफल बनाउन सम्पूर्ण देशवासीको निरन्तर साथ रहने विश्वास व्यक्त गरे ।




