काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तह निर्वाचन लैंगिक तथा समावेशी दृष्टिकोणले पनि उल्लेखनीय हुनुपर्ने भन्ने आयोगको स्पष्ट धारणा रहेको बताएका छन् ।
नयाँ वर्षको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा उनले सम्पूर्ण बालिग मतदाता एवम् देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै निर्वाचनको महोत्सवमा सहभागी हुन आग्रह गरे ।
प्रमुख आयुक्त थपलियाले सन्देशमा भनेका छन्,“राजनीतिक दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा उध्यक्ष वा उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवारलाई मनोनयनमा प्राथमिकता दिनुपर्ने भनी कानुनको परिपालनामा जोड दिइएको व्यहोरो पुनः स्मरण गराउन चाहन्छु । यसबाट स्थानीय तहको निर्वाचनमा महिला सहभागित र प्रतिनिधित्व उल्लेखनीय हुने छ भन्नेमा आयोग विश्वस्त छ ।”
स्थानीय तहमा लैंगिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका ७९ राजनीतिक दललाई आयोगले पत्राचार गरिसकेको छ ।
आगामी स्थानीय तहको निर्वाचन राष्ट्रिय जीवनको सबैभन्दा महत्वपूर्ण ‘न्यु इयर रिजोलुसन’ भएको बताउँदै उनले निर्वाचनलाई उत्सवका रुपमा लिएर मतदानमा सहभागी हुनु बालिग मतदाताको अधिकार र कर्तव्य दुवै हो भन्ने बिर्सनु हुँदैन भने ।
निर्वाचनलाई स्वाच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने जिम्मेवारीबाट निर्वाचनमा भाग लिने राजनीतिक दल एवम् उम्मेदवारमुक्त हुन हुँदैन भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल एवम् उम्मेदवारबाट नयाँ वर्गामा गर्ने विभिन्न प्रतिबद्धतामा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने बुँदा छुट्ने छैन भन्ने विश्वास व्यक्त गरे ।




