खेलकुद

च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पुरा

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती क्वाटरफाइनलका दोस्रो लिगका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको हो ।

सेमिफाइनलमा स्पेनिस ला लिगाका दुई र प्रिमियर लिगकाया दुई क्लबबीच भिडन्त हुने भएको छ ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिड, भिल्लारियल, म्यानचेस्टर सिटी र लिभरपुलले आफ्नो स्थान सुरक्षित गरेका छन् ।

रियल म्याड्रिडले क्वाटरफाइनलको दोस्रो लिगमा डिफेन्डिङ च्याम्पियन चेल्सीसँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ५-४ गोल अन्तरको नतिजा निकाल्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । यसअघि पहिलो लिगमा रियल म्याड्रिडले चेल्सीविरुद्ध ३-१ गोलको नतिजा निकालेको थियो ।

त्यस्तै क्वाटरफाइनलको दोस्रो लिगमा म्यानचेस्टर सिटी र एटलेटिको म्याड्रिड गोलरहित बराबरी खेलेपछि सिटीले समग्रमा १-० को अग्रता हासिल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । सिटीले एटलेटिको म्याड्रिडलाई पहिलो लिगमा १-० ले पराजित गरेको थियो ।

अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र स्पेनिस माहारथी रियल म्याड्रिडबीच भिडन्त हुने भएको छ । सेमिफाइनलको पहिलो लिग अप्रिल २६ र दोस्रो लिग मे ४ मा हुदै छ ।

त्यस्तै यस सिजनको च्याम्पियन्स लिगमा जाइन्ट किलर बनेको भिल्लारियलले बायर्न म्युनिखलाई पाखा लगाउदै सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लिगमा १-१ गोलको बराबरी खेल्दै समग्रमा २-१ को नतिजासहित भिल्लारियल सेमिफाइनलमा पुगेको हो । यसअघि सम्पन्न पहिलो लिगमा भिल्लारियलले बायर्नमाथि १-० को अग्रता हासिल गरेको थियो ।

त्यस्तै क्वाटरफाइनलको दोस्रो लिगमा लिभरपुल बेनिफिकासँग ३-३ गोलको बराबरीमा रोकिएपनि समग्रमा ६-४ को नतिजा सहित सेमिफाइनलमा पुगेको हो । लिभरपुलले पहिलो लिगमा बेनिफिकालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।
अब लिभरपुलले सेमिफाइनलमा जाइन्ट किलर भिल्लारियलको सामना गर्ने छ । सेमिफाइनलको पहिलो लिग २७ अप्रिल र दोस्रो लिग ३ मे मा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *