समाचार

माओवादीबाट विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटी सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको विदुर नगर कमाण्डको बैठकले सोमबार बोगटीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

माओवादीको विदुर नगर कमिटीकी अध्यक्षसमेत रहेकी बोगटी माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरी समेत हुन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा विदुर नगरपालिकामा सत्ता गठबन्धनबीच तालमेल हुँदा मेयर पद नेपाली कांग्रेसले पाउने सम्भावना छ । त्यस्तोमा माओवादीले उपप्रमुख पाउने छ ।

बोगटीले तालमेल गर्दा माओवादीले उपप्रमुख पाए पनि आफूले नै नेतृत्व गर्ने बताएकी छन् । बोगटी यसअघि पत्रकारितामा सक्रिय थिइन् । उनी माओवादी केन्द्रनिकट पत्रकारको संगठन प्रेस सेन्टरको केन्द्रीय सदस्य समेत हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकाको मेयर नेकपा एमालेले जितेको थियो भने माओवादी केन्द्रका उम्मेदवार तेस्रो भएका थिए ।

एमालेकी सञ्जु पण्डित ९ हजार ७१६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा नेपाली कांग्रेसका ध्रुवप्रसाद अधिकारी ८ हजार ७४० मत ल्याएर दोस्रो भएका थिए । माओवादीका उम्मेदवार लीलानाथ न्यौपानेले ४ हजार ७३६ मत पाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *