काठमाडौँ । शाहबाज शरीफले पाकिस्तानको प्रधानमन्त्रीको शपथ लिएका छन् । गएराती कार्यवाहक राष्ट्रपति तथा सिनेटका अध्यक्ष सादिक संजरानीले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
कार्यक्रममा पीएमएल-एन उपाध्यक्ष मरियम नवाज, क्याप्टेन (सेवानिवृत्त) मुहम्मद सफदर र अन्य धेरै पीएमएल-एन नेताहरू पनि उपस्थित थिए । कार्यक्रममा बिलावल भुट्टो, युसुफ रजा गिलानी लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।
पाकिस्तानको संबिधानमा राष्ट्रपतिले नवनिर्वाचित प्रधानमन्त्रीलाई शपथ गराउनुपर्ने व्यवस्था रहेको भएपनि राष्ट्रपति आरिफ अल्वीको स्वास्थ्य ठिक नभएकोले कार्यवाहक राष्ट्रपति तथा सिनेट अध्यक्षले शपथ गराएको बताइएको छ ।
शरीफ सोमबार नेशनल एसेम्बलीमा प्रधानमन्त्रीमा निर्वाचन भएका थिए । त्यस्तै सोमबार भएको प्रधानमन्त्रीको निर्वाचन निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी – पाकिस्तान तेहरिक ए इन्साफ पार्टी (पिटीआई) ले भने बहिष्कार गरेको थियो । मतदान हुनु अघि नै पिटीआईका १५५ सांसदहरुले राजीनामा दिएका थिए ।




