समाचार

सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ

काठमाडौं । सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमवार आयोजित विशेष समारोहकाबीच उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फूलमालाका साथ मायाको चिनो प्रदान गरी बिदाइ गरेका हुन् ।

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कँडेल खनाललाई सो संघकी उपाध्यक्ष ज्योति केसीले फूलमालासहित बिदाइ गरेकी हुन् । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका छन् । महानिरीक्षक खनालले सांगठानिक विकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय केसी र पौडेललाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।

महानिरीक्षक खनालले राज्यप्रदत्त जिम्मेवारी निर्वाहका क्रममा आफ्नो प्राणको समेत आहुति दिनुहुने संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठलगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीको योगदानको स्मरण गर्दै कर्तव्य पालनाका सिलसिलामा घाइते भई अङ्गभङ्ग भएका राष्ट्रसेवकहरूको समेत शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । उनले संगठन आजको स्थानमा आइपुग्नुमा संगठनका पूर्वज नेतृत्व, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीले पुर्याएको योगदानको स्मरण गरे ।

महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारी उत्तरी सिमानाको हिमाली क्षेत्रको कठ्याङ्ग्रिने जाडोदेखि दक्षिणी तराईको हावाहुरी तथा प्रचण्ड गर्मी रहेका ठाउँमा व्यक्तिगत स्वार्थलाई थाती राखी अहोरात्र खटिई आम नागरिकको सुरक्षामा खटिएको जानकारी दिए । उनले सीमा अपराध नियन्त्रण, आपतविपत्, पीडित नागरिकको उद्वार तथा चोरी निकासी तथा पैठारी नियन्त्रणमा खटिई प्रदर्शन गरेको उच्च व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादन तथा कोभिड–१९ महामारी नियन्त्रण तथा संक्रमितको उपचारमा नेपाल एपिएफ अस्पतालमार्फत प्रदर्शन गरेको सेवा तथा समर्पणभावको समेत सरकार तथा विभिन्न निकायबाट प्रशंसा भइरहेको उल्लेख गरे ।

समारोहमा सम्बोधनका क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीले सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै अवकाशपछिको जीवन सुखमय बितोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *