विश्व

पश्चिमासँग रुसलाई युद्ध रोक्न लगाउने अचुक उपाय छ

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पूर्व प्रमुख आर्थिक सल्लाहकार डा. आन्द्रेई लारिओनोभले पश्चिमी मुलुकहरूले रुसी तेल र ग्यास खरिद गर्न बन्द गरे युक्रेन युद्ध रोकिने बताएका छन् ।

उनले रुसी ऊर्जामाथि ’वास्तविक प्रतिबन्ध’ लगाउनुपर्ने सल्लाह दिएका छन् । डा. लारिओनोभले अन्य मुलुकहरूले आफ्ना ऊर्जा प्रयोग कटौती गर्ने भनेर दिएको चेतावनीलाई रुसले गम्भीर रूपमा नलिएको पनि बताएका छन् । गत वर्ष तेल र ग्यासको मूल्यमा निकै वृद्धि हुँदा त्यसैबाट उठेको राजस्वले रुसको सरकारी खर्चको ३६ प्रतिशत धानेको थियो ।

ऊर्जाको निर्यातबाट रुसले युरोपेली संघ (ईयू) बाट सबैभन्दा बढी आर्जन गर्ने गरेको छ । ईयूले आफूले वार्षक उपभोग गर्ने करिब ४० प्रतिशत ग्यास र २७ प्रतिशत तेल रुसबाट आयात गर्दै आएको छ ।

यसैसाता मात्र युरोपेली संघका कूटनीतिज्ञ जोसेप बोर्रेलले भनेका छन्, ‘हामीले प्रत्येक दिन हामीलाई ऊर्जा आपूर्ति गरिदिएबापत पुटिनलाई एक अर्ब युरो तिर्छौं ।’ डा. लारिओनोभले दाबीका साथ भनेका छन्, ‘यदि ऊर्जामाथि वास्तविक प्रतिबन्ध लगाइने हो भने सम्भवत एक वा दुई महिनाभित्र युक्रेनमा रुसी सैनिक अपरेसन रोकिने छ । यो अझै पश्चिमी मुलुकहरूका हातमा रहेको सबैभन्दा प्रभावकारी उपाय हो ।’ डा. लारिओनोभले सन् २००० देखि २००५ सम्म राष्ट्रपति पुटिनको प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *