विश्व

किएभबाट रुसी सेना फिर्ता भयो : अमेरिका

काठमाडौँ । अमेरिकाले किएभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ताको प्रक्रिया पूरा भएको बताएको छ । त्यहाँबाट फिर्ता भएका रुसी सेना बेलारुस र रुसको क्षेत्रमा जम्मा भएको अमेरिकी रक्षा अधिकारीहरूले बताएका हुन् ।

रुसले आफ्नो शक्ति पूर्वी युक्रेनको डोन्बास केन्द्रित गर्ने घोषणा गरेको केही दिनमै किएभ र चेर्निहिभबाट फौज फिर्ता भएका छन् । ‘रुसी फौजहरू किएभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको छ र उनीहरू बेलारुस र रुसको क्षेत्रमा जम्मा भएका छन्,’ पेन्टागनका प्रवक्ता जोन किर्बीले भने ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो रणनीतिक लक्ष्यको शून्य उपलब्धि हासिल गरेको उनको दाबी छ । उनले (पुटिन) थोरै जनसङ्ख्या भएका केन्द्रहरू मात्र नियन्त्रणमा लिएका छन्,’ उनले भने, ‘उनीहरूले खार्किभ पनि लिन सकेका छैनन् ।’

इन्स्टिच्युट फर स्टडी अफ वारले किएभबाट फर्किएको रुसी सेनाले केही समयसम्म पुनः सैन्य प्रभावकारिता हासिल गर्ने सम्भावना कम रहेको बताएको छ । ती अधिकारीका अनुसार रुसले युक्रेन युद्धमा पठाएका १८० सैन्य बटालियन मध्ये ८० बटालियन अझै युक्रेनमै छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *