काठमाडौँ । स्पेनीस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इंग्लिस क्लब चेल्सीमाथि सानदार जित दर्ता गरेको छ । गएराति भएको पहिलो लेगको खेलमा रियलले चेल्सीलाई उसकै मैदानमा ३-१ गोलअन्तरले पराजित गरेको हो ।
रियलको जितमा कप्तान करिम बेन्जेमाले ह्याट्रिक प्रहार गरे । चेल्सीका लागि काई हाभर्टजले एक गोल फर्काए। बेन्जेमाले खेलको २१औं मिनेटमा गोल गर्दै रियललाई हग्रता दिलाए । २४औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।
त्यसपछि ४०औं मिनेटमा हाभर्टजले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने कोसिस गरे । तर, ४६औं मिनेटमा बेन्जेमाले ह्याट्रिक पुरा गर्दै साविक विजेतामाथि रियललाई ३–१ को जित दिलाए । यो जितसँगै रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
अब खेलको दोस्रो लेग १२ मार्चमा रियलकै मैदानमा हुनेछ । यही नतिजालाई जोगाउन सके रियल सेमिफाइनलमा प्रवेश गर्नेछ ।




