काठमाडौँ । सोमबार मात्र ओली निवास (बालकोट) पुगेर नेकपा (एमाले)मा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी आज प्रचण्ड निवास (खमुलटार) पुगेर आफू पुनः नेकपा (माओवादी केन्द्र)मै फर्किएको जानकारी गराएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार डल्लाकोटी आज बिहान प्रचण्डको निवास पुगेर पुनः माओवादी केन्द्रमै रहेको जानकारी गराएका हुन् ।
“अध्यक्षज्यू, केही मान्छेको परिबन्दमा परी बालकोट पुगे। यसमा मेरो गल्ती भो । तर, मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन्, सुत्न नि दिएनन् । मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु । र, म २ दिनमै घर फर्केको छु,” डल्लाकोटीको भनाइ उद्धृत गर्दै मल्लले भने ।
स्वकीय सचिव मल्लका अनुसार जबाफमा अध्यक्ष प्रचण्डले भने,“अध्यक्ष कमरेड प्रचण्डले गल्ती गरे भनिसक्नु भो। अब काममा फर्कनुस् ।”
यसअघि डल्लाकोटीले मंगलबार विज्ञप्ति जारी गरेर पनि आवेगमा एमाले प्रवेश गरेको उल्लेख गर्दै माओवादी केन्द्रमै फर्किएको बताएका थिए ।




