विश्व

रुसी फौज आतंककारी सरह : जेलेन्स्की

किभ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ‘रुसी फौज अन्य आतंकवादी भन्दा फरक नरहेको’ बताएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेयता पहिलो पटक संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई सम्बोधन गर्दै जेलेन्स्कीले ‘रुसी सेनाले निहत्था सर्वसाधारणको हत्या गरेका र महिलाहरूलाई बलात्कार गरेका’ आरोप लगाए ।

रुसी सेनाले आफ्नो आनन्दका लागि युक्रेनी सर्वसाधारणको हत्या गर्ने र यातना दिने गरेका उनको दाबी छ । बुचा सहरमा रुसी सेनाले युद्ध अपराध गरेको उनको दाबी छ । त्यसबारे अन्तर्राष्ट्रिय समुदायले पनि छानबिनको माग गरेका छन् । सर्वसाधारणमाथि ज्यादती गरेका दृश्य तथा तस्बिरहरू सार्वजनिक भएपछि जेलेन्स्की मंगलबार बुचा पुगेका थिए । सहरमा कम्तीमा तीन सय जनाको सामूहिक चिहान भेटिएको थियो ।

भिडियोमार्फत परिषद्लाई सम्बोधन गरेका जेलेन्स्कीले रुसी सेनाले बुचा र अन्य स्थानका सर्वसाधारणमाथि ज्यादती र दमन गरेको बताए । ‘तिनीहरूले परिवारका सबैको हत्या गरे, महिला तथा बालबालिकालाई पनि छाडेनन् र शव जलाउने प्रयास गरे,’ उनले भने । राष्ट्रसंघका लागि रुसी प्रतिनिधि भसिली नेबेन्ज्याले रुसी फौजले युद्ध अपराध गरेको अस्वीकार गरेकी छन् । युक्रेनी र पश्चिमा सञ्चारमाध्यमहरूले घटनालाई गलत नियतले प्रकाशन गरेका उनको दाबी छ ।

उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने युक्रेनको तयारीपछि रुसले फेब्रुअरी २४ मा आक्रमण सुरु गरेको हो । युक्रेनी अधिकारीहरूले आक्रमण सुरु भएयता करिब १८ हजार ५ सय रुसी सैनिक मारिएका दाबी गरेका छन् ।

त्यसयता, ६ सय ७६ सैनिक ट्यांक, एक हजार ८ सय ५८ बख्तरबन्द गाडी, १५० युद्ध विमान र १३४ हेलिकप्टर ध्वस्त भएको युक्रेनी सेनाको दाबी छ । यद्यपि, युक्रेनी अधिकारीको दाबी स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले भने पछिल्लो पटक दस दिनअघि युद्धका क्रममा भएको क्षति सार्वजनिक गरेको थियो । उक्त अवधिसम्ममा आफ्ना १ हजार ३ सय ५१ सैनिक मारिएका र ३ हजार ८ सय २५ घाइते भएका जनाएको थियो ।

दुई देशबीचको युद्धका क्रममा कम्तीमा १ हजार ४ सय ८० सर्वसाधारणले ज्यान गुमाएका छन् । त्यस्तै, २ हजार १ सय ९५ जना घाइते भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । युद्ध सुरु भएयताका ६ सातामा ८५ वटा स्वास्थ्य सेवा केन्द्रहरूमा आक्रमण गरिएको जनाइएको छ । ती आक्रमणमा मात्रै कम्तीमा ७२ जनाले ज्यान गुमाएका छन् भने ४३ जना घाइते भएका राष्ट्रसंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *