काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक स्थलमा अनुमति बिना चुनावी कार्यक्रम गर्न रोक लगाएको छ । आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको जनाएको हो ।
‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्न नहुने’, आयोगको निर्देशनमा भनिएको छ, ‘जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनु पर्ने ।’
आयोगले जारी गरेको निर्देशनमा कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम कसैले पनि बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पु¥याउन नहुने पनि उल्लेख छ ।




